प्रधानमन्त्री प्रचण्डलाई २ सय ६८ सांसदले दिए बिश्वासको मत, विपक्षमा जम्मा २ मत
पुष, काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ । मंगलबार संघीय संसदको प्रतिनिधि सभामा भएको मतदानमा उहाँले विश्वासको मत पाउनुभएको हो ।
मतदानमा प्रधानमन्त्री प्रचण्डको पक्षमा दुई सय ६८ मत खसेको हो । त्यस्तै उहाँको विपक्षमा दुई मत खसेको छ । आज दुई सय ७० सांसद उपस्थित थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभामा भएको मत विभाजनअनुसार प्रचण्डले दुई सय ६८ जना सांसदको मत पाउनुभएको छ । दुई सय ७५ सदस्यीय संसदमा आज दुई सय ७० जना सांसद उपस्थित थिए ।
दुई सय ६८ जनाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा र जम्मा दुई जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत लिनुभएको हो । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले पाएको मत ९९ प्रतिशतभन्दा धेरै हो ।
यसअघि गएको पुस १० गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरेर एक सय ६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर आज संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेपछि प्रचण्ड नेपालको इतिहासमै सबैभन्दा धेरै सांसदको समर्थन पाउने प्रधानमन्त्री पनि बन्नुभएको छ ।
आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसमितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो । कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा र नेताहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल र प्रकाशमान सिंहले भने प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा फरक मत राख्नुभएको छ ।
फरक मत राखे पनि पार्टीले जारी गरेको ह्विपका कारण उहाँहरूले प्रचण्डलाई नै मत दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिनुभएन । प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीवार बिहान ११ बजेका लागि बोलाइएको छ ।