पाँचौ संस्करणको बागमती गोल्डकप पुष २४ गतेदेखि, १० टोलीहरु सहभागी रहने

तामसालिङ खबर
१६ पुष २०७९, शनिबार १५:२५

पुष, हेटौंडा – पूर्वी मकवानपुरको बागमती खेलकुद विकास समितिको आयोजनामा पाँचौ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता यहि पुष २४ गतेदेखि सुरु हुने भएको छ । समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै यहि पुष २४ गते देखि माघ ३ गते सम्म हुने प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।

बागमती गाउँपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिता फापरबारीस्थित जनता माविको खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा एक विदेशी टिम, ए डिभिजनका ७ क्लबहरु र मोफसलका २ टिम सहित कुल १० टोलीहरुको सहभागिता रहने बागमती खेलकुद विकास समितिको संयोजक टीकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र युवा क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युथ क्लब, जावलाखेल युथ क्लब, आयोजक बागमती गाउँपालिका, मकवानपुर–११ र अमेरिकी टिम भुट्निज युथ स्पोर्ट्सको सहभागी रहनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँ ट्रफी प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरुले जनही १०–१० हजार रुपैयाँ र हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

साविक विजेता थ्री स्टार क्लब भने पाँचौं संस्करणको प्रतियोगितामा सहभागी नहुने भएको छ । चौथो संस्करणमा विदेशी टिम क्यामरुनलाई हराउँदै थ्रीस्टारले उपाधि जितेको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, उपाध्यक्ष युवराज लामा, बागमती खेलकुद विकास समितिको संयोजक टीकालाल श्रेष्ठ, उप-संयोजक मनोज बल, समितिको पूर्व अध्यक्ष अरुण बल, कार्यपालिका सदस्य भिम भुजेल लगायतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*