यू-१५ महिला साफको उपाधि नेपालको पोल्टामा
कार्तिक, काठमाडौं – नेपालले बंगलादेशमा भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
ढाकामा भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेपछि नेपालले उपाधि जितेको हो । खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन दिएन र उपाधि कब्जा गर्यो । डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले चार खेलबाट १० अंक बटुल्यो। बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।
रोमान्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो । नेपाली महिला फुटबलको उमेर समूहमा यो ऐतिहासिक उपाधि हो। नेपाली महिला टोलीको कुनै पनि उमेर समूहको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।
खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् ।त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो ।तर, बंगलादेशकी बीबी रिताको पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् ।
नेपाल प्रतियोगितामा अपराजित रहने एक्लो टिम बन्यो । बंगलादेश भने सात अंकमै सीमित रह्यो । तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन पुछारमा रह्यो । नेपालले यसअघि बंगलादेशविरुद्धको पहिलो खेलमा १–० को जित निकालेको थियो।