सगरमाथाको खुम्बु क्षेत्रमा भेटियो हिउँ चितुवा

तामसालिङ खबर
२१ कार्तिक २०७९, सोमबार ११:५२

कार्तिक, काठमाडौं – सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा खिचेकी थिइन् ।

सगरमाथा क्षेत्रको ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् । ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनले लेखेकी छन्।

‘मौसम असाध्यै अप्रत्यासित थियो तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो । तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेँ,’ उनले भनेकी छन्।

हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन् । ‘गोधुली साँझ वा मिर्मिरे बिहानमा हिउँ चितुवा निकै आकर्षक देखिन्छ। उचाइमा पुगेर मलाई आकर्षक तस्बिर कैद गर्नु थियो म त्यसमा सफल भएँ,’ उनले भनेकी छन्।

फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*