आज फुलपाती, घरघरमा फूलपाती भित्र्याईदै

तामसालिङ खबर
१६ आश्विन २०७९, आईतवार ०७:१६

असोज, हेटौंडा – बडा दशैंको सातौ दिन अन्तर्गत आज फुलपाती । आज हिन्दु नेपालीहरुले बैदिक विधिपुर्वक घरघरमा फूलपाती भित्रयाउँदैछन् । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ ।

आज दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा फूलपातीको शुभ साइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्रयाइन्छ ।

फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाण्डूको जमलसम्म ल्याउने प्रचलन छ । गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्रयाउने चलन छ ।

आजै काठमाडौंका नेवार समुदायका घरघरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । त्यस क्रममा पुस्तक, कापी, कलम, ज्यावल, मेसिनरी सामग्रीहरु, कोदाला, हँसियालगायत स्थापना गरी पूजा गरिन्छ ।

घटस्थापनाका दिनदेखि नै दशै सुरु हुने भए पनि दशैको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय पनि बन्द हुने भएकाले मूलघर भन्दा पर रहेकाहरु घर फर्कने भएकाले पनि आजको दिनबाट दशैको विशेष रमाइलो सुरु हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*