असोज ७ बाट ‘प्रेम गीत ३’ नेपाल र भारतमा एकै साथ प्रदर्शन हुने
साउन, काठमाडौं – बहुप्रतिक्षित चलचित्र फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने भएको छ । भारतीय संस्करणको पोस्टर रिलिज गर्दै निर्माताले फिल्म असोज ७ गते रिलिज हुने जनाएका हुन् ।
जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ ।
यसअघि ‘विश्वजीतम्’ शीर्षकमा भारतमा फिल्मलाई रिलिज गर्ने बताइए पनि शीर्षक ‘प्रेमगीत ३’ नै रहने भएको छ । ‘टाइटल पहिलेकै राख्दा व्यावसायिक रुपमा पनि फाइदा हुने देखेपछि सोही निर्णय गरेका हौं,’ निर्माता सन्तोष सेनले भने ।
निर्माताले महंगो मूल्यमा फिल्मको राइट भारतमा बेचेका हुन् । मधु इन्टटेनमेन्ट र यूएफओले फिल्मलाई नेपालबाहेक विश्वभर रिलिज समेत गर्नेछ । सेप्टेम्बर १ मा हिन्दी संस्करणको ट्रेलर समेत आउने भएको छ ।
प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ।
यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएका छन्। फिल्मको तेस्रो भाग भने यो वर्ष दशैंमै प्रदर्शन हुने ‘परदेशी २’सँग भिडन्त गर्दै छ।