मनहरी गाउँपालिकामा एमालेबाट अध्यक्ष उम्मेदवार छान्न सकस
चैत्र, हेटौडा (मनहरी) – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मनहरी गाउँपालिकामा चाहिएको भन्दा बढी आकांक्षी देखिएपछि उम्मेदवार चयन हुन सकेको छैन ।
रजैया स्थित अग्निहोत्राश्रम परिसरमा बसेको नेकपा एमाले मनहरी गाउँ कमिटी बैठकमा ५ जनाले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेको बताइएको छ ।
दाबेदारी प्रस्तुत गर्नेहरुमा गाउँ कमिटी अध्यक्ष नविन सुवेदी, बहालवाला गाउँपालिका अध्यक्ष एकराज उप्रेती, बहालवाला ८ नं वडाध्यक्ष दिलबहादुर स्याङ्तान, पूर्व जिल्ला कमिटी सदस्य जयराम अर्याल र बागमती प्रदेश कमिटी सदस्य श्याम ढकाल रहेको छ ।
पाँच जनाले अध्यक्षमा दाबेदारी गरिरहँदा साबिक मनहरीतर्फका ४ जना र साबिक हाँडीखोलातर्फका १ जनाको दाबी प्रस्तुत भएको हो । अध्यक्ष पदमा महिलाले दाबी गर्न गरेका छैनन् । उपाध्यक्ष पदमा भने तीनजना महिलाले दाबी गरेका छन् । जिल्ला कमिटी सदस्य बिमला कार्की, बहालवाला ५ नं वडा सदस्य पम्फा बस्नेत रोक्का र विद्यार्थी नेता सुजिता थिङले उपाध्यक्ष पदमा आकांक्षा ब्यक्त गरेको बताइएको छ ।
‘हामीले घनीभूत छलफल ग¥यौँ, दाबी पनि प्रस्तुत भयो, तर निष्कर्षमा पुग्न सकेनौँ’, अध्यक्ष सुवेदीले भन्नुभयो–‘अहिले पनि आन्तरिक छलफलमै पार्टी कार्यालयमै छौँ, सहमतिमै कुरा टुंगिन्छ ।’ उम्मेदवार छान्नका लागि गाउँ कमिटीमा आन्तरिक मतदानको व्यवस्था गर्दा कार्यकर्ताहरु बिभाजित हुने भएकाले मतदानको परिकल्पना नगरिएको उहाँले बताउनुभयो ।
मनहरीका केही वडाहरुमा सर्बसम्मत वडाध्यक्षसहित सदस्यहरुको नाम प्राप्त भए पनि कतिपय अबस्थामा तीनजनाको नाम सिफारिस भएर आएको छ । पाँच बर्षअघि नेकपा एमालेका तर्फबाट मनहरी गाउँपालिकामा एकराज उप्रेती बिजयी हुनु भएको थियो ।
उहाँले ४ हजार ६ सय ४९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शंकर न्यौपानेले ४ हजार ३ सय ४० मत प्राप्त गर्नु भएको थियषे । त्यसैगरी उपाध्यक्षमा एमालेकै मनिला बिष्टले ५ सय ४ मत बढी ल्याएर काँग्रेसकी कमला खड्का कार्कीलाई पराजित गर्नु भएको थियो । बिष्टले ४ हजार ६ सय ३१ मत ल्याउँदा काँग्रेसकी खड्काले ४ हजार १ सय ६७ मत प्राप्त प्राप्त गर्नु भएको थियो ।
उपाध्यक्ष बिष्ट यतिखेर नेकपा एकीकृत समाजवादीमा आबद्ध हुनु भएको छ । उहाँसँगै मनहरी गाउँपालिका ९ मा स्वतन्त्रबाट चुनाव जित्नु भएका साधुराम अधिकारी र ३ नं वडाका कार्यबाहक वडाध्यक्ष पनि एमाले छाडेर समाजवादीतर्फ हुनुहुन्छ ।