सर्लाहीको ग्याथाङ ज्याङ्छ्युब गुम्बाका मानिपा समाजलाई खाद्यान्न सहयोग
मंसिर, सर्लाही (धरहरा) – सर्लाहीको बागमती नगरपालिका वडा नम्बर २ धरहरामा रहेको ग्याथाङ ज्याङ्छ्युब छ्योइलिङ गुम्बाका मानिपा समाजलाई आइतबार राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ ।
गुम्बाका १ सय भन्दा बढी मानिपा समाजमा आवद्ध लामा गुरु, आनी लगायत मानिपा समाजका बृद्धबृद्धाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
इन्टरनेशनल बुद्धिस्ट छ्यु चाइ फाउण्डेशन सँग बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम बहादुर दोङ र समिति कै सदस्य विश्व लामा स्याङ्तानले समन्वयमा मानिपा समाजलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
खाद्यान्न सामाग्रीमा जनही चामाल २५ केजी, आटा १० केजी, दाल, चना, तेल, नुन, चिनी, १/१ केजी र साबुन ४ वटाका दरले वितरण गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानध्वज बोम्जनले जानकारी गराए ।
गुम्बाका प्रमुख लामा पाल्छाङ लामाले गुम्बा समितिका सदस्य विश्व लामा स्याङ्तानलाई स्वागत गर्नु भएको थियो । भोलि सोमबार लालभित्तीमा रहेको गुम्बालाई पनि खाद्यान्न सामाग्री वितरण गर्ने कार्यक्रम रहेको समितिका सदस्य स्याङ्तानले जानकारी दिए।
हाल गुम्बा परिसर भित्र बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिकै ५ लाख बराबरको आर्थिक सहयोगमा भक्तजनहरुलाई सहजताका लागि सभाहल निर्माण भैरहेको छ ।
२०६३ सालमा स्थापना भएको गुम्बामा विश्व शान्ति पूजा, ङ्यङ्ने मौन व्रत, गोने ङ्यामा पूजापाठ लगायत बौद्ध धर्म अनुसार विवाह, पूजापाठ, ग्रहदशा शान्ति गर्न, आफन्तका कर्मकाण्डको कार्य गर्न भक्तजनहरु सहज भएको छ ।