बाइपासबाटै राजमार्ग विस्तार गर्ने प्रयास गरौं – मुख्यमन्त्री पाण्डे
मंसिर, हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौंडाको रातोमाटे देखि राप्तीपुल सम्मको क्षेत्रलाई राष्ट्रिय राजमार्ग कायम गरी सडक विस्तार गर्न संघीय सरकार सँग नै पहल गर्न सुझाव दिएका छन् ।
राजमार्ग क्षेत्रमा २५ मिटर सडक फराकिलो गर्नुकोे कुनै विकल्प नभएको भन्दै उनले संघीय सरकारले नै राजमार्गको धार परिवर्तन गर्न राजी भएमा मात्र हेटौंडा बजार जोगिनसक्ने धारणा राखे ।
मकवानपुर उद्योग वाणिज्य संघले बुधबार आफूलाई स्वागत गर्न आयोजित कार्यक्रममा पाण्डेले भने–‘राजमार्ग विस्तारको विकल्प छैन । राष्ट्रिय राजमार्ग संघीय सरकार मातहत नै हुने भएकाले हामीले केही गर्न सक्दैनौं । हेटौंडा बजारभन्दा बाहिर बाइपासबाटै राजमार्ग कायम गराउने हो भने संघीय मन्त्रिपरिषद्बाटै पारित गराएर राजमार्गको धार परिवर्तन गर्नुपर्छ । त्यो सकिन्छ भने गराउन लागौं ।’ राष्ट्रिय राजमार्गकै धार परिवर्तन गराउनु कानुनी र अन्य विविध समस्या आउनसक्ने भन्दै सहज भने नभएको उनले बताए ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको अध्यक्षतामा भएको मुख्यमन्त्री तथा मन्त्रीहरुको स्वागत कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालको सहभागिता रहेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल लगायतले जिल्लाका समस्याहरु राख्दै आगामी योजनाहरुको बारेमा मुख्यमन्त्रीहरु र मन्त्रीहरुलाई सुझाव समेत दिएका थिए ।