हरिवन घेदुङको आयोजनामा राष्ट्रिय जनगणना सम्बन्धी सचेतना कार्यक्रम
कार्तिक, हरिवन – सर्लाहीको हरिवनमा राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विगतको जनगणनाहरुमा तामाङ समुदायको एकिन तथ्यांक नआएकाले यस वर्ष तामाङ समुदायको तथ्यांक संकलन गर्दा सही तथ्यांक टिपाउन र लेखाउन तामाङ समुदायको साझा संस्था नेपाल तामाङ घेदुङले अभियान चलाएको हो ।
हरिवन नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल तामाङ घेदुङ हरिवन नगर कार्यसमितिको आयोजनामा हरिवन नगरपालिकाको नगर प्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
प्रशिक्षण कार्यक्रममा संघीय घेदुङका अध्यक्ष मोहन गोले तामाङ र स्तम्भकार तथा नीति अनुसन्धान प्रज्ञा प्रतिष्ठानका विज्ञ निष्नु थिङ तामाङले राष्ट्रिय जनगणनाको महत्त्व, आवश्यकता र तामाङ बौद्धिक अभियान लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका केन्द्रीय सदस्य विश्व लामा स्याङ्तान घेदुङका केन्द्रीय सदस्य अर्जून योन्जन, जिल्ला घेदुङका अध्यक्ष हिराकाजी योन्जन, घेदुङका पुर्व अध्यक्षहरु इन्द्र योन्जन, छत्र बहादुर डुम्जन, लालबन्दी नगर घेदुङका अध्यक्ष बुद्ध थिङ, सचिव विना घिसिङ, बागमती नगर घेदुङका उपाध्यक्षद्वय सरिता घिसिङ, हिरालाल स्याङ्तान, युवा समाजसेवी सन्तलाल घिसिङ, जोनिश पाख्रिन, श्याम मोक्तान, श्री कृष्ण उप्रेती, यवराज आचार्य, विशाल शासंकर लगायतका अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो।
प्रशिक्षण सँगै घेदुङले आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुदै गरेको राष्ट्रिय जनगणनालाई लक्षित गर्दै प्रत्येक वडामा घेदुङका सदस्यहरुलाई गणक सँग खटाउने, रेडियोमा प्रचारप्रसार गर्ने गाउँ-गाउँको तामाङ समुदाय बीच छलफल चलाउने कार्यक्रम तय भएको नगर घेदुङ अध्यक्ष राजु लो तामाङले बताए।
राष्ट्रिय जनगणनाको लागि सोधिने पाँचवटा प्रश्नहरुमा जातिको महलमा तामाङको कोड नं. ५, मातृभाषाको महलमा तामाङको कोड नं. ५ पुर्खाको भाषामा तामाङको कोड नं. ५ दोस्रो भाषामा छिमेकी समुदायको भाषा लेखाउने र धर्मको महलमा बौद्ध धर्मको कोड नं. २ टिपाउने र लेखाउने अभियान घेदुङ्गले चलाउने भएको छ ।