कुशीनगर विमानस्थल यसै साता सञ्चालन
कार्तिक, नयाँदिल्ली – बौद्ध धर्मावलम्बीलाई लक्ष्य गरी निर्माण गरिएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल यसै साताबाट सञ्चालनमा आउँदै छ । भारतको उत्तर प्रदेशमा निर्मित उक्त विमानस्थलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज उद्घाटन गर्दै छन् ।
भैरहवामा बौद्ध धर्मावलम्बीलाई लक्ष्य गरेर नेपालले बनाइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा रहेका बेला सोही उद्देश्य लिएर भारतले बनाएको विमानस्थल त्यसअघि नै सञ्चालनमा आउन लागेको हो ।
भारतले उक्त विमानस्थलका माध्यमबाट भारत आउने पर्यटकमा २० प्रतिशत वृद्धि हुने आकलन गरेको छ । श्रीलंका, जापान, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्यान्ड र सिंगापुरबाट आउने बौद्ध धर्मावलम्बीलाई यो विमानस्थलका माध्यमबाट थप आकर्षित गर्न सकिने अनुमान छ । विमानस्थलको निर्माणमा भारु २ सय ६० करोड खर्च भएको जनाइएको छ ।