एसियन कपको अन्तिम छनोट एकै स्थानमा हुने
कार्तिक, काठमाडौं – चीनमा सन् २०२३ मा आयोजना एएफसी एसियन कपको छनोटको अन्तिम चरणको खेलहरु एकै स्थानमा आयोजना हुने भएको छ ।
एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले छनोट अन्तर्गतको अन्तिम चरणको खेलहरु ‘होम एण्ड अवे’ को आधारमा नहुने जनाएको छ ।
एएफसीले अन्तिम चरणको खेलहरु सिंगल राउण्ड रोबिनको आधारमा केन्द्रीकृत मैदानमा खेलाइने जनाएको छ ।
कोरोना भाइरस महामारीका कारण उत्पन्न चुनौतीहरुलाई ध्यानमा राखी सम्बन्धित सबै सरोकारवालाहरुको सुरक्षालाई प्राथमिकता दिएर एएफसी कार्यकारी समितिले यस्तो निर्णय गरेको हो ।
छनोटको अन्तिम चरणको खेल सन् २०२२ को जून ८, ११ र १४ तारिखमा गरिने तथा खेल आयोजनाका लागि सहभागी सदस्यहरुलाई सो खेलहरु आयोजना गर्नका लागि प्रस्ताव पेश गर्न प्रक्रिया अघि बढाइने एएफसीले जनाएको छ ।
एएफसीका अनुसार प्रतिस्पर्धाको नियममा आधारित रहेर आवश्यक परे नयाँ खेल तालिका परिवर्तन गर्न सकिनेछ । यसै महिनाको सुरुवातमा भएको छनोट प्ले-अफमार्फत इन्डोनेसिया र कम्बोडियाले एसिया कपको लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।