मोतिपुर झडपमा मृत्यु हुनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने
असोज, बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा आइतबार भएको झडपमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख किरिया खर्च दिने भएको छ ।
सोमबार बिहान प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद् लगायतको बैठकले सो निर्णय गरेको हो । प्रदेश सरकारले मृतकका परिवारलाई जनही १–१ लाख दिने निर्णय गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए ।
आइतबार औधागिक ग्राम कब्जा गर्न खोज्ने सुकुम्बासीले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि हिंसा भड्किएको थियो । त्यसक्रममा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको छ।
प्रेस सल्लाहकार विकले भने, ‘मोतीपुर घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही १–१ लाख दिने निर्णय भएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटना अध्ययन गरी सुझाव दिन कार्यदल पनि गठन भएको छ ।’
अहिले विवाद भएको ठाउँ प्रदेशले नचलाएको बताउँदै उनले औद्योगिक ग्राम नै हडप्न आएपछि प्रहरीले सुरक्षाको लागि गोली चलाएको ब्रिफिङ भएको उल्लेख गरे ।
आगामी दिन सो स्थानमा घटनामा थप क्षति हुन नदिन प्रहरी संवेदनशील हुने, घाइतेहरुको प्रदेश सरकारले उपचार गर्ने र सुकुम्बासीको पहिचानका लागि छिटो कार्य अघि बढाउने बैठकले निर्णय गरेको उनले जानकारी दिए ।