तालिबानसँग रुष्ट कतार – ‘हामी पनि मुस्लिम देश, हामीबाट सिक्नुहोस् देश चलाउन’
असोज, एजेन्सी – तालिबानलाई खुल्ला मनले समर्थन गर्ने देश कतार हाल यो संगठन सँग निकै रिसाएको छ । कतारका एक शीर्ष कुटनीतिज्ञले महिला शिक्षाका लागि तालिबानको व्यवहार असाध्यै निराशाजनक भएको र यो कदमले अफगानिस्तानलाई थप पछि धकेल्ने बताएका छन् । उनले यदि तालिबानले साँच्चै नै एक इस्लामिक सिस्टममार्फत् देश चलाउन चाहेको भए तालिबानले कतारबाट सिक्नुपर्ने समेत बताएका छन् ।
कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले एक पत्रकार सम्मेलनमा युरोपेली विदेश नीति प्रमुख बोरेलसँग कुराकानी गरे र थुप्रै मुद्दासहित अफगानिस्तानमा महिलाको शिक्षामाथि रोकलाई निराशाजनक बताए । उनले भने, ‘हालै अफगानिस्तानमा जुन प्रकारको कदम उठाइएको छ, जसले अफगानिस्तानलाई विकासको बाटोमा निकै पछाडि धकेलिन सक्छ । यो निकै दुर्भाग्यपूर्ण हो । ’
स्मरण रहोस्, अमेरिकी सेना निस्किएपछि अघिल्ला केही हप्तामा अफगानिस्तानमा उथलपुथल मच्चिएको छ । कतारले यो संवेदनशील समयमा अफगानिस्तानलाई असाध्यै मद्दत गरेको छ । कतारले काबुल विमानस्थलका काम कारवाही सम्हाल्न मद्दत गरेको थियो । यसबाहेक हज्जारौं विदेशी र अफगानीलाई पनि यो देशबाट निकाल्न मद्दत गरेको थियो । यसबाहेक अफगानिस्तानमा तालिबानको कब्जापछि त्यहाँ आफ्नो उच्च स्तरीय प्रतिनिधिमण्डल पठाउने कतार संसारको पहिलो देश बनेको थियो ।
‘महिलाको मुद्दालाई कसरी सम्बोधन गर्ने, तालिबानले यो कुरा हामीबाट सिक्नुपर्छ ’
शेख मोहम्मदले थपे, ‘हामीले लगातार तालिबानसँग कुरा गर्न आवश्यक छ र उनीहरुलाई आग्रह गर्न आवश्यक छ । उनीहरुलाई विवादित क्रियाकलापबाट टाढै बस्न आग्रह गर्न आवश्यक छ ।
हामी तालिबानलाई एक इस्लामिक देश भएर कसरी कानून चलाउन सकिन्छ र कसरी महिलाको मुद्दालाई सम्बोधन गर्न सकिन्छ भनेर देखाउने कोसिस गरिरहेका छौं । एउटा उदाहरण कतार हो । यो एउटा मुस्लिम देश हो । हाम्रो सिस्टम इस्लामिक सिस्टम हो तर जब कर्मचारी वा शिक्षाको कुरा आउँछ तब कतारमा पुरुषको तुलनामा महिला धेरै पाइन्छ ।’
शेख मोहम्मदले आशा जताउँदै भने, ‘पछिल्ला वर्षमा अफगानिस्तानमा जे जति प्रगति भएको छ, त्यसलाई कायम राख्नेछन् । ’ उनले अन्तरराष्ट्रिय समुदायसँग संवेदनशील स्थितिबाट गुज्रिरहेको अफगानिस्तानलाई एक्लो नबनाउन पनि अपिल गरेका छन् ।