सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान
असोज, काठमाडौँ – दशैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका-५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो ।
निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दशैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो चामल ३० किलोग्रामको बोरा एक हजार ५ सय १५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताए । सामान्यतया अरू समयमा संस्थानले यस चामललाई एक हजार ६ सय २५ मा बिक्री गर्दै आएको थियो ।
यस्तै, मोटा चामल ३० किलोग्रामको बोरालाई एक हजार २ सय १५ पर्ने उनले बताए । दैनिक चार-पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उनले बताए ।
संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ । ग्रेडिङ गरेको चामल हुने भएकाले चामलमा कनिका नहुने उनको भनाइ छ । एक पटक उपभोग गरेकाहरुले फेरि पनि संस्थानकै चामल खोज्ने थरेको उनले बताए ।