नेपाल ओमानसंग ७-२ गोलको अन्तरले पराजित

तामसालिङ खबर
११ आश्विन २०७८, सोमबार ०८:५०

असोज, एजेन्सी – साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानविरुद्ध मैत्रीपूर्ण खेलमा फराकिलो हार बेहोरेको छ । कतारमा भएको खेलमा नेपालले ७-२ को हार बेहोरेको हो ।

पहिलो हाफमा २-१ ले पछि परेको नेपालले दोस्रो हाफमा भने ५ गोल खाएको थियो । दोस्रो हाफमा ओमानले बलियो टोली उतारेपछि नेपाली टोली निकै दबाबमा परेको थियो । नेपाली टोली अब सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ । नेपालले आइतबार मात्र साफ च्याम्पियनसिपका लागि अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको थियो ।

पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । प्रशिक्षण क्याम्पका दौरान चोट बोकेपछि विकेश अन्तिम टोलीमा पर्न सकेनन् । प्रशिक्षक अलमुताइरीले यसअघि साफमा २५ जना खेलाडीलाई नै माल्दिभ्स लग्ने बताएपनि एन्फाले भने २३ सदस्यीय टोली घोषणा गरेको हो ।

साफले अन्तिम टोलीमा २३ सदस्य रहने भएपनि विकल्पमा आफ्नै खर्चमा भने खेलाडी लग्न पाउने प्रावधान छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ । नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*