दशैको अबसर पारेर मनहरी ३ मा फुटबल प्रतियोगिता हुने
असोज, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्वर ३ हाँडीखोलास्थित सिद्धकालीमा यहिँ असोज १२ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको छ । जनआदर्श समाज युवा मनहरी–३ ले बडादशैंको अवसरमा असोज १२ गतेदेखि २२ गतेसम्म फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
दशैंको शुभकामना आदानप्रदान, खेलाडीहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना र फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागेको आयोजक क्लवका अध्यक्ष गोविन्द घलानले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा गाउँपालिकाभित्रका क्लबहरुले सहभागिता जनाउनु पाउनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आयोजक क्लवका सचिव विक्रमकुमार दोङका अनुसार, प्रतियोगितामा करिब १८ टिम सहभागी हुने र ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सहभागी हुन चाहने टिमले १० गतेभित्रमा सम्पर्क गर्न आयोजकले अनुरोध समेत गरेको छ । खेलमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान समेत गरिने आयोजकले जनाएको छ ।