यु–१३ युथ एकेडेमी कार्यक्रममा छनोट भएका भुवनलाई आर्थिक सहयोग सहित बिदाई

तामसालिङ खबर
२० भाद्र २०७८, आईतवार १७:२७

भदौं, हेटौंडा – अखिल नेपाल फुटबल संघ (एन्फा) को यु–१३ युथ एकेडेमी कार्यक्रममा छनोट भएका मकवानपुरका खेलाडी भुवन कामीलाई आर्थिक सहयोग सहित बिदाई गरिएको छ ।

एन्फाको कार्यक्रमबाट नेपाल आर्मीको युथ एकेडेमीमा आबद्ध भएका भुवनलाई आइतबार मकवानपुर जिल्ला फुटबल संघ, हेटौंडा नगर खेलकुद विकास समिति, नेपाल खेलकुद महासंघ लगायतबाट आर्थिक सहयोग प्राप्त भएको हो ।

एकेडेमीमा सहभागी हुन भुवन आइतबार नै काठमाडौं गएका छन् । उनलाई मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले खादा ओढाएर बिदाई गर्नुभएको थियो । अध्यक्ष लामाले भुवनलाई एकेडेमीमा आवश्यक पर्ने खर्च व्यवस्थापन गर्नका लागि भन्दै १० हजार रुपैयाँ सहयोग गर्नुभयो ।

यस्तै नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मुक्तानले महासंघको तर्फबाट भुवनलाई मोबाइल सहयोग गर्नुभएको छ । एकेडेमीमा रहँदा अनलाईन अध्ययन गर्नका लागि मोबाइल प्रदान गरिएको उहाँले बताउनुभयो । साथै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नगर खेलकुद विकास समिति मार्फत भुवनलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निश्चित भएको पनि अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।

रकम नआइसकेको भएपनि भुवनलाई एकेडेमीमा आवश्यक कपडा लगायतका सामग्रीहरु खरिद गरी बिल उपलब्ध गराएपछि रकम प्राप्त हुने उहाँको भनाई छ । भुवनलाई केदारनाथ सुनचाँदी पसलका संचालक राहुल सुनारले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*