अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिने जोखिममा

तामसालिङ खबर
१५ भाद्र २०७८, मंगलवार १६:१७

भदौं, चितवन – भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन। दैनिक ३१३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०‌–३५ जनाले मात्रै काम गर्दै आएका छन्। त्यो जनशक्ति पनि नियमित काममा आउदैनन्।

धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर रङ्गशाला बनाइरहेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ । फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले आर्थिक अभावमा काम अघि बढ्न नसकेको बताए। सामान्य जनशक्तिले काम गरिरहेको भन्दै उनले साउन लागे यता आर्थिक अभावका कारण काममा बाधा पुगेको बताए।

रङ्गशालामा हालसम्म रु ५३ करोड बराबरको काम भएको छ, जसमध्ये रु १६ करोडभन्दा बढी तिर्न बाँकी रहेको लेखा प्रमुख मुक्ति तिमिल्सिनाले जानकारी दिए। ‘असार मसान्त हुँदै गर्दा सामाग्री दिनेलाई भुक्तानी गर्न सकेनौँ । सामानकै अभावमा काम हुन सकेको छैन,’ तिमिल्सिनाले बताए। उनका अनुसार साउन १५ यता जनशक्ति नियमित काममा लगाउन सकिएको छैन। उत्पादन सामग्री दिनेहरुले रकम माग्ने क्रम बढ्दो छ।

अध्यक्ष कट्टेल दैनिक ३१५ जनासम्म जनशक्तिले काम गर्दा विगतमा रङ्गशालाको धेरै काम निकै छिटो भएको बताए। गत वर्षको साउन १ गतेबाट एक वर्षको अवधिमा ३५ प्रतिशत काम भएको भन्दै उनले आर्थिक अभाव नभएको भए ५० प्रतिशत काम सम्पन्न गरिसक्ने जानकारी दिए। रकम जुटेमा आउँदो एक वर्षमा रङ्गशाला सम्पन्न हुने कट्टेलले दावी गरे।

हाल रङ्गशालाको भुई र प्याराफिटको फिनिसिङको काम भइरहेको छ। बजेट भएको भए ढलानको काम अघि बढ्ने कट्टेलले बताए। विगत केही समययता काठमाडौँमा आर्थिक सहयोग जुटाउन आफू लागिपरेको पनि उनले जानकारी दिए। यसका लागि अर्थमन्त्री, खेलकुद मन्त्रालय लगायतका निकायमा आर्थिक सहयोग जुटाइदिन आफूले पहल गरिरहेको उनले बताए।

रङ्गशाला बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा निर्माण गरिँदैछ। विस्तृत परियोजना प्रतिवेदनमा एक लाख ५४ हजार पाँच सय ६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ। अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*