सरकारले २० युनिटसम्म विद्युत खपत गर्नेलाई निःशुल्क बत्ती बाल्न दिने – मन्त्री भुसाल
साउन, काठमाण्डौ – सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई बत्ती निःशुल्क बाल्न दिने निर्णय गरेको छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पम्फा भुसालले जानकारी दिनुभएको हो ।
यस्तै उहाँले आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत् महसुल दरमा पनि समायोजन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै किसानलाई सिचाइँमा प्रयोग हुने विद्युतमा अधिकतम सहुलियत गर्ने पनि निर्णय गरेको छ ।
‘विदेशी ग्याँस छोडौँ, स्वदेशी बिजुली जोडौँ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने मन्त्री भुसालले स्पष्ट पार्नुभयो । यसै वर्षभित्र ५० ओटा विद्युतीय गाडी चार्जिङ स्टेशन बनाउने तथा हेभी ड्युडीका गाडीबाहेक ऊर्जा मन्त्रालय मातहतका कार्यालयले विद्युतीय गाडी खरिद गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले जल तथा मौसम विज्ञान विभागले विश्वसनीय र भरपर्दो जल तथा मौसम सेवा उपलब्ध गराउने, स्यालो ट्युबेल सीमान्तकृत र साना किसानको जीवनस्तर उठाउने माध्यम भएको भन्दै विद्युत् बढी माग हुने समयमा महसुलमा ८० प्रतिशत र अन्य समयमा पूर्णरूपमा छुट दिने पनि बताउनुभयो ।
यसअघि सञ्चालनमा आइ विद्युत् महसुलको बक्यौताका कारण सञ्चालन हुन नसकेका डीप ट्युबेलको जरिबाना मिनाहा गरिने पनि मन्त्री भुसालले बताउनुभयो ।