साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा आयोजना हुने
साउन, काठमाण्डौ – १३ औं साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा आयोजना हुने भएको छ । साफ कार्यकारी कमिटीको सोमबार बसेको बैठकले माल्दिभ्समा आगामी असोज १५ देखि २७ गते (अक्टोबर १ देखि १३) सम्म आयोजना गर्ने निर्णय गरेको छ ।
साफ च्याम्पियनसिपको आयोजना गर्न नेपाल पनि दाबेदारको रुपमा रहेको थियो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले माल्दिभ्समा कोरोनाको संक्रमण दर नेपालमा भन्दा न्यून रहेकाले माल्दिभ्समा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
अन्तिम पटक माल्दिभ्समा २००८ मा साफ च्याम्पियनसिप आयोजना गरिएको थियो । श्रीलंका संग संयुक्त आयोजक रहेको माल्दिभ्सले सो प्रतियोगिता समेत जितेको थियो ।
अहिले सम्म बंगलादेश, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाले साफ च्याम्पियनसिपमा आफ्नो सहभागिता हुने निश्चित गरेका छन् ।