कोरोना नियन्त्रणमा बागमती प्रदेशको ३३ करोड खर्च
साउन, हेटौंडा – बागमती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका मन्त्रालयले उक्त रकम खर्च गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत २१ करोड ७० लाख ५० हजार रुपैयाँ प्रदेशका स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए ।
त्यस्तै, मन्त्रालयले विभिन्न स्थानीय तहका लागि रु ११ करोड ११ लाख उपलब्ध गराएको उनले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका लागि ६४ लाख रुपैयाँ उपलब्ध गराइएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले स्थानीय तह र प्रदेशका विभिन्न जिल्लाका कार्यालय मार्फत काम गर्दै आएको थियो । चालू आर्थिक वर्षमा पनि कोरोना खोपका लागि बागमती प्रदेश सरकारले दुई अर्ब रुपैयाँ छुट्याएको छ ।