हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप सुरु, उद्घाटन खेलमा मकवानपुर–११ विजयी
फाल्गुन, हेटौंडा – हेटौंडाको फरेस्ट्री चौरमा बिहीबारबाट स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । खेलको राष्ट्रिय कलाकार तथा धुर्मुश–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ । सिमराको नव जनजागृती युवा क्लबलाई ४–१ गोलअन्तरले हराउँदै मकवानपुर–११ विजयी बनेको हो । बिहीबार भएको खेलको म्यान अफ दी म्याच मकवानपुर–११ का विमल राना घोषित भए । उनले २ गोल गरेका थिए । यस्तै मकवानपुर ११ का रञ्जन विष्ट र अमिर श्रेष्ठले एक एक गोल गरे ।
सिमराका मोहित गुरुङले खेलमा १ गोल फर्काएपनि खेल जित्न सकेन् । हारसँगै नव जनजागृती युवा क्लब सिमरा प्रतियोगिताबाट बाहिरिएको छ ।
अब शुक्रबार दिउँसो २ बजे नेपाली आर्मि क्लब र जावलाखेल युथ क्लब काठमाडौं बिच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, उपविजेताले नगद ५ लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले ३५० सिसीको बुलेट बाइक प्राप्त गर्नेछन् ।