हेटौंडामा नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने
फाल्गुन, हेटौडा – हेटौंडामा फागुन १९ गते बुधबारदेखि तेस्रो संस्करणको नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा हेटौंडा–४ हुप्राचौर खेलमैदानमा हुने प्रतियोगिता फागुन २२ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १३ वटा टिमको सहभागिता रहने मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताको विजेता ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय नगदसहित पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । कुल ६ लाख रुपैयाँ लागतमा संचालन हुने खेलमा हेटौंडा उपमहानगरपालिकाले २ लाख ५० हजार र प्रदेश खेलकुद विकास परिषद्ले ३० हजार रुपैया सहयोग उपलब्ध गराएको छ । अपुग रकम भने अन्य स्रोत परिचालन गरि संकलन गर्नै आयोजकले जनाएको छ ।