स्याउ उत्पादन बढाउन मुस्ताङमा नयाँ प्रविधिको सुरुवात
माघ, मुस्ताङ – परम्परागत रुपमा स्याउ उत्पादन हुँदै आएको मुस्ताङमा अब वैज्ञानिक विधिबाट उच्च घनत्वमा स्याउ उत्पादन सुरु गरिने भएको छ ।
मुस्ताङलाई स्याउको केन्द्र बनाएर अघि बढाउने योजना अनुरुप स्याउ उत्पादनमा बृद्धि गराउन बिभिन्न योजना अघि सारिएको छ ।स्याउको लागि उर्वर मानिएको मुस्ताङमा स्याउ उत्पादक किसानहरुलाई लक्षित गरेर नयाँ कार्यालयको समेत स्थापना गरिएको छ ।
यस्तै उनीहरुलाई परम्परागत नभइ वैज्ञानिक विधिबाट स्याउ उत्पादनका लागि विशेष तालिमको आयोजना समेत गरिएको छ ।तालिममा थासाङ गाउँपालिका, वडा नं १ टुकुचे, घरपझोङ गाउँपालिका र आसपासका गाउँहरुबाट स्याउ व्यवसायी कृषकहरु सहभागी थिए ।
प्रशिक्षणबाट सहभागी किसानहरुले उच्च घनत्वमा स्याउ उत्पादन सम्बन्धी धेरै कुराहरू सिकेको भन्दै अब यसलाई व्यवहारमा उतार्ने बताएका छन् । तालिममा गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले हिमाली जिल्लाको मुस्ताङ, मनाङ र उत्तरी गोर्खालाई बृहत स्याउ उत्पादनको मुख्य केन्द्रको रूपमा अगाडि बढाइने बताउनु भयो ।
उहाँले गण्डकी प्रदेश सरकारले हालसम्म तीनवटै जिल्ला मुस्ताङ, मनाङ र उत्तरी गोर्खामा ४१ हजारभन्दा बढी उच्च घनत्वमा उत्पादन हुने स्याउको बिरुवा बितरण गरिसकेको जानकारी दिनुभयो ।
नयाँ प्रविधि भित्रिएपछि मुस्ताङमा पहिला एक रोपनी क्षेत्रमा २० वटा स्याउको बोटमात्र लगाइन्थ्यो भने अबदेखि एक रोपनीमा एक सयवटा बोटबाट पनि स्याउ उत्पादन गर्न सकिने भएको छ ।