विजय यूथ हेटौंडा गोल्डकप माघमा हुने
पुस, हेटौडा – हेटौंडामा रहेको एफसी विजय यूथको आयोजनामा हेटौंडामा ‘विजय यूथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आगामी माघ ८ गतेदेखि १७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड १९) र लकडाउनका कारण लामो समयदेखि रोकिएको फुटबलको गतिविधिलाई निरन्तरता दिन प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा प्रतियोगिता आयोजना गर्ने तयारी छ । विजय यूथ हेटौंडा गोल्डकपको विजेताले नगद ३ लाख र उपविजेताले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफी प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगिताका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा मकवानपुरको दुई टिमको सहभागिता रहनेछ भने बाहिरी जिल्लाका ८ गरी १० टिमको सहभागिता रहनेछ । मकवानपुरबाट विजय यूथ क्लव र मकवानपुर ११ सहभागी हुनेछन् ।
छिमेकी जिल्ला र केही ए डिभिजन टिमले समेत सहभागिता जनाउने सम्भावना रहेको आयोजकले जानकारी दिएको छ । २०६७ सालमा स्थापना भएको एफसी विजय यूथले मकवानपुरमा खेलकुद तथा सामाजिक गतिविधि गर्दै आएको छ ।