विप्लव माओवादी मकवानपुरका १ सय ३८ जनाले पार्टी छाडे

तामसालिङ खबर
२० भाद्र २०७७, शनिबार ०९:३९

भदौ, हेटौंडा – सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका अधिकांश नेतृत्वले पार्टी छाडेका छन् । मकवानपुरको उत्तरी क्षेत्रस्थित भीमफेदी गाउँपालिका-९ को बसीफाँट माविमा शुक्रबार आयोजित कार्यक्रममा सबैले पार्टी परित्यागको घोषणा गरेका    हुन् ।

विप्लव नेतृत्व नेकपाका मकवानपुर जिल्ला सेक्रेटरी जयराम रायमाझी ‘पासाङ’ सहित एक सय ३८ जना नेता तथा कार्यकर्ताले सामूहिक पार्टी परित्याग गरेका हुन् ।

जिल्ला सेक्रेटरी पासाङसहित, सैन्य ब्यूरो सदस्य बिमल थिङ, राज्य सदस्य रेखा थापा मगर, जिल्ला सदस्य सन्दीप ढुंगाना, अमर रुम्बा, जुरे घिसिङ, नेत्र गौतमलगायतले पार्टी परित्याग गरेका हुन् ।

पार्टीभित्र नेतृत्वको अन्तरविरोध, कार्यकर्ता संरक्षण गर्न नसक्नु र तीव्र असन्तुष्टिले नेकपामा रहिरहनु नसकेको भन्दै उनीहरूले परित्याग गरेका छन् । पार्टी परित्याग गर्दै अब स्वतन्त्र जीवन बिताउने बताएका छन् । मकवानपुरमा यसअघि करिब २२ जना नेता तथा कार्यकर्ताले पार्टी छोडिसकेका छन् ।

कार्यक्रमको संयोजन पार्टीका पूर्व जिल्ला इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ले गरेका थिए । थाहा नगरपालिकाका मेयर लवशेर विष्टले प्रतिबन्धित नभई स्वतन्त्र र खुला समाजमा आउनेहरुको स्वागत गर्ने बताएका थिए । पार्टी परित्यागमा यसअघि नै नेकपा परित्याग गरेका पूर्व जिल्ला इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’, नेकपा नेता विष्णुु विष्ट लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*