मेस्सी र रोनाल्डोविनाको च्याम्पियन्स लिगको सेमिफाइनल

तामसालिङ खबर
३२ श्रावण २०७७, आईतवार १८:३५

एजेन्सी – च्याम्पियन्स लिगमा १५ वर्षपछि फुटबल स्टारद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोविनाको सेमिफाइनल हुने भएको छ । अर्जेन्टिनी स्टार मेस्सीको टोली बार्सिलोना र पोर्चुगिज स्टार रोनाल्डोको टोली युभेन्टस अन्तिम चारमा पुग्न असफल भएपछि उनीहरूविना १५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनल खेल हुन लागेको हो ।

यसअघि सन् २००४–०५ को सिजनमा यी दुई सेमिफाइनल पुग्न असफल भएका थिए । त्यसयता मेस्सी र रोनाल्डो प्रतियोगिताको अन्तिम चारमा प्रवेश नगरेको यो पहिलो पटक हो । बार्सिलोनाले अन्तिम आठमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ८–२ गोलको लज्जास्पद हार ब्यहोर्दै लिगबाट आउट भएको थियो भने युभेन्टस अन्तिम १६ बाटै बाहिरिएको थियो ।

इटालियन च्याम्पियन युभेन्टसको यात्रामा फ्रेन्च क्लब लियोनले पूर्णविराम लगाइदिएको थियो । यस सँगै सर्वाधिक पाँच पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डोको छैटौं उपाधि जित्ने योजना अपूरो भएको छ । यता, चार पटकका विजेता मेस्सीको पनि पाँचौं उपाधि जित्ने योजना अधुरो भएको छ ।

यसपटक सेमिफाइनलमा फ्रान्सका दुई र जर्मनका दुई क्लब पुगेका छन् । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) इटालियन क्लब अटलान्टामाथि जित निकाल्दै अन्तिम चारमा पुगेको हो भने लियोनले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

यता, बायर्नले सेमिफाइनल पुग्न बार्सिलोनालाई हराउँदा अर्को जर्मन क्लब आरबी लेइपजिगले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई जित्दै अन्तिम चारमा पुगेको हो ।

अब पहिलो सेमिफाइनलमा पीएसजीले लेइपजिगसँग अगस्ट १९ मा खेल्नेछ । यस्तै बायर्नले लियोनसँग अगस्ट २० मा खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*