विश्वकप फुटबलको छनोट खेल अक्टोबरबाट शुरु गर्ने तयारी
कोरोना भाइरसको महामारीका कारण स्थगित विश्वकप फुटबलका छनोट खेल अक्टोबारबाट सुरू गर्ने तयारी भएको छ । एसियन फुटबल फेडेरसन ‘एएफसी’ ले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र चीनमा आयोजना हुने एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेका खेल अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव गरेको छ ।
एएफसीले फीफासँग परामर्श गर्दै कोरोना भाईरसको कारण स्थगित छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव ल्याएको हो । एएफसीले सार्वजनिक गरेको प्रस्तावित मिति अनुसार म्याच डे ७ र ८ को खेलहरु अक्टोबर ८ र १३ मा हुनेछन् । यस्तै म्याच डे ९ र १० का खेलहरु नोभेम्बर १२ र १७ मा हुनेछ । यसअघि मार्च र जुनमा हुने तय भए पनि कोरोनाको कारण छनोट खेलहरु स्थगित गरिएको थियो ।
छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेत बिरुद्ध होम गेम भुटानमा खेलेको थियो ।