लकडाउन – पूर्वराजा रानीको सवारी पास खारेज
जेठ १, झापा – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौ आउनका लागि झापा जिल्ला प्रशासन कार्यलयले पास जारी गरेको केही घण्टामै खारेज गरेको छ । जिल्ला प्रशासन कार्यलय झापाले पास खारेज गरिएको पुष्टि गरेको छ ।
पूर्वराजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यलय पुगेका थिए । त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो । गृह मन्त्रालयको आदेशमा झापा जिल्ला प्रशासन कार्यलयले पूवराजा रानीको सवारी पास रद्द गरेको हो ।
गृह मन्त्रालयले सोमबार निर्णय गर्दै एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेको थियो । यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ । बिहीबार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह लकडाउन सुरु हुनुअगावै पत्नी कोमलसहित झापा पुगेका थिए । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनलाई कडाइ गरिरहेको छ ।