६४ लाख श्रमिकको रोजगारी जोखिममा
बैशाख १३, काठमाडौं – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढे सँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ । आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपियाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै ४० लाख श्रमिकको रोजगारी जोखिममा परेको छ। श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले रोजगारीको दोहोरो चापलाई थेग्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भएको बताए। रोजगारीको अवसर गुमाएका सबैलाई समेट्ने गरी अहिलेका कार्यक्रमभन्दा फरक ढंगले स्वरोजगारका कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उनको भनाइ छ।
सरकारले विदेशमा रोजगारी गुमाएर फर्केका, विदेश जान नपाएर रोजगारी गुमाएका एवं कोरोनाका कारण स्वदेशमै रोजगारी गुमाएका सबैलाई समेटेर रोजगारीका नयाँ कार्यक्रम ल्याउन लागेको हो। कोरोनाले विश्व नै जोखिममा छ। रोजगारीका लागि दैनिक एक हजार तीन सयभन्दा बढी नेपाली विदेश जान वाध्य छन्। बर्सेनि पाँच लाखभन्दा बढी श्रम बजारमा आउँछन्। कोरोनाले धेरैको रोजगारी गुम्ने संयुक्त राष्ट्र संघले समेत चेतावनी दिइसकेको छ। श्रम मन्त्रालयका प्रवक्ता घिमिरेका अनुसार कृषिमा आत्मनिर्भर हुने गरी नयाँ कार्यक्रम ल्याइनेछ। युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन।
सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोष खडा गरे पनि अपेक्षाकृत स्वरोजगार सिर्जना हुन सकेको छैन। त्यस्तै सरकारले राष्ट्र बैंकमार्फत आधा दर्जनभन्दा बढी सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याए पनि लक्षित वर्गले सहजै ऋण पाउन सकेका छैनन्। सहुलियत ऋण प्रदान गरी उधमशीलता बढाउन बैंक पूर्णरूपमा सक्षम हुन नसकिरहेको अवस्थामा छुट्टै संयन्त्र बनाएर स्वरोजगार सिर्जना गर्न सकिने सरोकारवालाले जोड दिन थालेका छन्। युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकरी निर्देशक विष्णुप्रसाद गौतमले रोजगारी र उद्यमशीलता बढाउन स्वरोजगार प्राधिकरण निर्माण गर्न आवश्यक भइसकेको बताए। विभिन्न मन्त्रालयमा छरिएर रहेका उद्यमशीलता कार्यक्रम र सहुलियतका कर्जा समेटेर स्वरोजगार प्राधिकरण बनाउनुपर्ने उनको भनाइ छ।
यद्यपि नयाँ संरचना खडा गरेर सरकारको दायित्व बढाउनेभन्दा पनि भएकै संरचनाबाट समन्वयात्मक संयन्त्रबाट काम गर्न बुद्घिमानी हुने विज्ञहरूले सुझाएका छन्। श्रम मन्त्रालयका प्रवक्ता घिमिरेका अनुसार नेपालमा काम गर्न पर्याप्त अवसर भए पनि नेपाली स्वदेशमा भन्दा विदेशमा काम गर्न उत्साहित हुने गरेको बताए। ठेलागाडामा तरकारी तथा फलफूल बिक्री गर्नेलगायत सानोतिनो लगानीमै प्रशस्त आम्दानी हुने स्वरोजारका अवसर प्रशस्त छन्। सीटीईभीटीलाई समेत समेटेर लाखौं युवालाई सिपमूलक तालिम दिएर स्वरोगार बनाइने घिमिरेले बताए।
गैर आवासीय नेपाली संघका सचिव रामकृष्ण शर्माले कोरोनापछि धेरै नेपाली नेपाल फर्कन चाहेकाले उनीहरूको व्यवस्थापन गर्न सरकारले सोच्नुपर्ने बताए। ‘आकर्षक प्याकेज ल्याएर बढीभन्दा बढी रोजगारी सिर्जना गर्दै उत्पादन बढाउनतर्फ सरकारले सोच्नै पर्छ’, उनले भने। अन्नपूर्ण पोष्ट दैनिकबाट ।