सरकारद्वारा साग पदक जित्ने खेलाडीको बैंक खातामा पुरस्कार रकम जम्मा
बैशाख ४, काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीले चार महिनापछि सरकारले घोषणा गरेको नगद पुरस्कार पाएका छन् । गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौंमा सम्पन्न सागमा पदक जित्ने ४ सय ३५ खेलाडीलाई कुल १९ करोड ५३ लाख रुपैयाँ प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषदबाट उपलब्ध गराइएको उक्त रकम सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरिएको छ ।
पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कार एवं सम्मानपत्र एक समारोहबीच वितरण गर्ने कार्यक्रम राखिएपनि कोरोना भाइरसको संक्रमणका कारण कार्यक्रम आयोजना गर्न सम्भव नभएकाले बैंक खातामा रकम जम्मा गरिएको युवा तथा खेलुकद मन्त्रालयले जनाएको छ ।
सरकारले व्यक्तिगत स्पर्धाका स्वर्ण पदक विजेतालाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने सरकारको घोषणा गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले टिम ईभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई ५ लाख दिने बताएपनि अन्य पुरस्कार रकमको घोषणा गर्नु भएको थिएन । तर संशोधित कार्यविधि अनुसार टिम ईभेन्ट्का स्वर्णधारी खेलाडीले ६ लाख, रजतले ४ र कास्य जित्नेले २ लाख रुपैयाँ पाएका छन् ।