दोस्रो राष्ट्रिय भेट्रान्स कपको उपाधि आयोजक भुटनदेबीको पोल्टामा
फाल्गुन २०, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा भएको दोस्रो राष्ट्रिय भेट्रान्स कप एट ए साइट प्रतियोगितामा आयोजक भुटनदेबी युवा क्लबले उपाधि हात पारेको छ । मंगलबार हेटौडाको हुप्प्राचौरमा भएको फाइनल खेलमा भुटनदेबी युवा क्लबले अभिषेक चर्च नवलपरासीलाई ट्राईब्रेकरमा पुगी पेनाल्टी सुटआउट मार्फत ५-४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।
प्रतियोगिताको निर्धारीत समयमा दुवै टिमबाट कुनैपनि गोल गर्न नसकेपछि टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा भुटनदेबीको तर्फबाट ५ गोल भएको थियो भने अभिषेक चर्चको तर्फबाट ४ गोल भएको थियो । म्यान अफ दि म्याच भने भुटनदेबीको गोल रक्षक दिपक डंगोल भएका थिए ।
खेलमा प्रथम हुने भुटनदेबी युवा क्लबले नगद १ लाख सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने अभिषेक चर्च नवलपरासीले नगद ५० हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, उत्कृष्ट खेलाडीमा भुटनदेबी युवा क्लबका क्याप्टेन समेत रहेका पूर्वरास्ट्रीय खेलाडी सागर थापा, भुटनदेबी कै उत्कृष्ट गोलकर्ता राजकुमार घिसिङ, वेष्ट किपरको रुपमा भुटनदेबीको गोल रक्षक दिपक डंगोल र उत्कृष्ट प्रशिक्षकको रुपमा भुटनदेबीको आकाश तामाङ घोषित भएका उनिहरुले आकर्षक ट्रर्फी प्राप्त गरेका छन् ।
भुटनदेवी युवा क्लबका अध्यक्ष सबिन मुक्तानको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई हेटौडा उप–महानगरपालिकाका उपमेयर मिना लामा, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दिपक खड्का, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यलय प्रमुख राजन दाहाल ‘खुशराज’, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामालगायतले पुरस्कृत गरेका थिए ।