फुटबलमा भविष्य नदेखेपछि विदेशिए राष्ट्रिय फुटबलर न्यौपाने
फाल्गुन, हेटौंडा – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य एलन न्यौपाने नेपालमा भविष्य नदेखेपछि विदेशिएका छन् । उनी फुटबल र नेपाल छोडेर शनिबार अस्ट्रेलियाका लागि उडेका छन् । चाइनिज ताइपे र अष्ट्रेलियाविरुद्ध घरेलु मैदानमा हुने विश्वकप र एएफसी एसियन कप छनोटका लागि समेत प्रारम्भिक टोली अर्थात् ३१ जनाको टिममा परेका न्यौपाने अस्ट्रेलियाका लागि उडेका हुन् ।
नेपाली फुटबलमा भविष्य नदेखेपछि बाध्य भएर विदेशिएको उनले आफन्त सहित केही निकटकालाई प्रतिक्रिया दिएका छन् । यद्यपी सामाजिक सञ्जालमा उनले यसबारे केही लेखेका छैनन् र सञ्चारकर्मीलाई समेत कुनै जानकारी दिएका छैनन् ।
उनका साथीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई विदाई गर्दै गरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा राखेर वैदेशिक यात्रा सुखमय रहोस् भन्दै शुभकामना दिएका छन् । केहीले भने राष्ट्रिय फुटबलर विदेशिनुपर्ने अवस्था आउनु दुःखद् भएको प्रतिक्रिया समेत जनाएका छन् । उनले नेपालमा खेलेरै बाँच्न सक्ने अवस्था नरहेको भन्दै आफ्ना आफन्त तथा साथीभाईसंग गुनासो गर्दै आएका थिए ।
सन् २०१३ देखि नियमित रुपमा ललितपुरे ए डिभिजन क्लव थ्रीस्टारमा आबद्ध रहेका न्यौपानेले केही समयअघि सम्पन्न कतार एअरवेज सहीद स्मारक ए डिभिजन लिग भने च्यासल यूथ क्लवबाट खेलेका थिए । उनी सन् २०१६ देखि राष्ट्रिय टिममा पर्दै बाहिरिँदै आएका थिए । उनले सन् २०१५ देखि हालसम्म २३ बर्ष मुनिको उमेर समूहको टिममा रहेर ५ अन्तरास्ट्रिय खेल खेलिसकेका छन् । हेटौंडा–२ वनस्खण्डी स्थायी घर भएका न्यौपाने अखिल नेपाल फुटबल संघ (एन्फा)को उत्पादन हुन् ।
उनले २०१८ को एएफसी यू २३ छनौट खेल समेत खेलेका थिए । एलन सन् २०१८ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपालले जित्दाको सदस्य समेत रहेका थिए । विश्वकप तथा एएफसी एसियन कप छनौटका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जोहान कालिनले न्यौपानेसहित ३१ जनालाई पहिलो चरणको छनौटमा समावेश गरका थिए ।
करिब तीन हप्तापछि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु हुँदैछ । गोलरक्षकमा न्यौपानेसहित विकेश कुथु र विशाल श्रेष्ठलाई छनौट गरिएको थियो । एलन विदेशीएसंगै खेल क्षेत्रलाई माया गर्नेहरुले फुटबलमा भविष्य नभएको चर्चा सुरु गरेका छन् ।