हेटौडा उपमहानगरले क्रिकेट रङ्गशाला निर्माणका ३० लाख सहयोग गर्ने
पुस २१, हेटौडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा धुर्मुस-सुन्तली फाउन्डेशनले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले सहयोगको घोषणा गर्नुभएको हो ।
धुर्मुस-सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको हैसियतमा सहयोग गर्न लागेको मेयर महतले बताउनुभयो । रङ्गशाला निर्माण हुँदा हेटौंडालाई पनि फाइदा हुने भएकाले सहयोग गर्न लागेको मेयर महतले बताउनुभयो । घोषणा गरेको रकम केही दिनमा नै हस्तान्तरण गर्ने उहाँले बताउनुभयो ।
रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली नागरिकको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रङ्गशाला हुनेछ । यसमा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिङ लगायतका खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ ।
देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रङ्गशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।