नेपालमा एक महिनामा रेल आउने भाडादर समेत तोकियो

तामसालिङ खबर
९ पुष २०७६, बुधबार १८:२४

पुस ९, काठमाडौं – नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिने जस्ता पूर्वतयारी गर्न बाँकी छ ।

रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगी देखि व्यवस्थापक र साधारण प्राविधिक देखि विशेषज्ञ इन्जिनियर सम्मको जनशक्ति आवश्यक छ ।

अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि बढ्न सकेको छैन । जयनगर–जनकपुर खण्डमा चलाउन सरकारले सूर्य–चन्द्र झन्डा अङ्कित रेल खरिद गर्ने निर्णय गरेको थियो । पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने जानकारी रेल विभागका प्रवक्ता अमन चित्रकारले दिए ।

नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन अवस्थामा छ । रेल विभागका महानिर्देशकसहितको टोलीले निर्माणाधीन रेलको निरीक्षण गरेको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपाल आउन लागेको रेल ‘डेमो ट्रेनसेट’ हो । एउटा ट्रेन सेटमा अगाडि र पछाडि गरेर दुईवटा इन्जिन हुन्छन् । नेपालतर्फ आउँदा अगाडिको इन्जिन र भारततर्फ फर्किंदा पछाडिको इन्जिनले काम गर्छ । त्यसैगरी एउटा ट्रेन सेटमा पाँचवटा डब्बा हुन्छन् जसमध्ये एउटा डब्बा वातानुकूलित (एसी कोच) हुने छ ।

‘जयनगरदेखि कुर्थासम्म साधारणतर्फ ६० रुपियाँ र ‘एसी’तर्फ तीन सय रुपियाँ भाडादर कायम गर्ने विषयमा छलफल भइरहेको छ,’ मिश्रले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*