कर्मचारीसँगै ‘घूस’ लिन्थे प्रजिअ रिजाल
मंसिर २१ दोलखा – सर्लाहीका रामनरेश यादव सरकारी जागिर सुरु गरेको ३० वर्षमा पहिलो पटक गत भदौ ४ गते प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छिरे । उनलाई दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फोन गरेर बोलाएका थिए ।
उनको साथमा दोलखाको बिगु गाउँपालिका– १ का कार्यालय सहयोगी राजु श्रेष्ठ पनि थिए । श्रेष्ठ पनि रिजालले बोलाएरै उनको कार्यकक्षमा पुगेका हुन् । लामाबगर स्वास्थ्यचौकीका सिनियर अहेव यादवले बिगु गाउँपालिका–१ को सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
‘हामी कार्यकक्षभित्र छिर्नेबित्तिकै सीडीओ सापले ढोका थुन्नुभयो,’ शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालय परिसरमा भेटिएका यादवले सम्झिए, ‘उहाँले तिमीहरू विरुद्ध बिगु–१ का केही व्यक्तिले बेइज्जती हुनेखालका उजुरी दिएका छन्, के कसो हो भनेर सोध्न बोलाएको हो भन्नुभयो ।’ तर रिजालले कसले के उजुरी दिएको छ भन्ने खुलाएनन् ।
केही समयअघि यादव र श्रेष्ठको बिगुकै एक महिलासँग झगडा परेको थियो । त्यसलाई स्थानीय बासिन्दाले मिलाइसकेका थिए । ‘त्यसबाहेक गाउँले सँग हाम्रो कुनै दुस्मनी थिएन,’ श्रेष्ठले भने । यादवका अनुसार उनीहरूले ‘आफूहरूले केही पनि गल्ती नगरेको’ भन्दै कसले के उजुरी दिएको हो भनेर सोधेका थिए । रिजालले जवाफको सट्टा धम्की दिए ।
‘उहाँले हामीलाई पुलिस लगाएर थुनिदिन्छु भन्नुभयो, तिमीहरूको जागिर जान्छ, बदनाम पनि हुन्छौ भन्नुभयो,’ यादवले भने । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।