मर्जपछि देशकै ठुलो बन्यो, ग्लोबल आइएमई बैंक

तामसालिङ खबर
२० मंसिर २०७६, शुक्रबार १८:०४

मंसीर २०, काठमाण्डौ – ग्लोबल आइएमई बैंक र जनता बैक मर्ज भएपछि देशकै सबैभन्दा ठुलो बैंक बनेको छ । शुक्रबार देखि एकीकृत कारोबार थाल्दै गरेको बैंकले सख्यात्मक आकारको रुपमा दुई बैंकको मर्जरपछि बैंक धेरै सूचकांकमा सबैभन्दा ठूलो बैंक बन्नेछ ।

अब यो बैंक कोर बिजनेसको रुपमा रहेको निक्षेप संकलन र कर्जा लगानीको आकारमा पनि सबैभन्दा ठूलो हुनेछ । अहिलेसम्म कुनैपनि वाणिज्य बैंकहरुले २०० अर्ब भन्दा बढी निक्षेप संकलन गर्न सकेको इतिहास छैन । जसलाई ‘ब्रेक’ गर्ने काम मर्जरपछिको यो बैंकले गर्नेछ । ग्लोबल आइएमई बैंक सँग जनता बैंक मर्ज हुँदा ‘स्वाप रेसियो’ १०० :८५ तोकिएको छ । यसको मतलब ग्लोबल आइएमईको १०० कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता हुनेछ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार जनता बैंकको आठ अर्ब र ग्लोबल आइएमई बैंकको १० अर्ब ४३ करोड रुपैयाँ चुक्ता पुँजी छ । एकीकृत कारोबारपछि बन्ने ग्लोबल आइएमई बैंकको कुल चुक्तापुँजी १८ अर्ब ४३ करोड हुनेछ । त्यस्तै, जनता बैंकको सम्पत्ति एक खर्ब १ अर्ब ६२ करोड र ग्लोबल आइएमईको एक खर्ब ६२ अर्ब ६७ करोड रुपैयाँ गरी दुई खर्ब ६४ अर्ब ३० करोड रुपैयाँ कुल सम्पत्ति पुग्नेछ ।

जनता बैकको ९० अर्ब ६२ करोड र ग्लोबल आइएमई बैंकको एक खर्ब ४५ अर्ब ३८ करोड गरी कुल २ खर्ब ३६ अर्ब रुपैयाँ दायित्व रहेको दुवै बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ । हालसम्म नाफाको आधारमा हेर्दा सबैभन्दा अगाडि राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र त्यसपछि एनआईसी एशिया बैंक छन् ।

मर्जरपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी सबैभन्दा बढी हुनेछ । चुक्ता पुँजीको हिसाबले हेर्ने हो भने ग्लोबल आइएमई बैंकले अब चुक्ता पुँजीको ३० गुणा बढी अर्थात् ५ खर्ब ५२ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार गर्न सक्छ । मर्जरपछि नाफामा ग्लोबल आइएमईले एनआइसी एसियालाई उछिने तेस्रो स्थान कब्जा गर्नेछ । अहिले नाफामा ग्लोबल ७ सातौं स्थानमा छ भने जनता २५औं स्थानमा छ ।

नाफालाई छाड्ने हो भने बाँकी सूचकमा ग्लोबल आइएमई एक नम्बर बैंक बन्नेछ । पुँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारीलगायत सूचकमा ग्लोबलले सबैलाई पछि पार्नेछ । अहिले सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य र नबिल बैंक छन् । चुँक्ता पुँजीको आधारमा अहिले नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडि छ । सो बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड रुपैयाँ छ ।

निक्षेपकर्ताको उच्च ब्याजको अपेक्षा, ऋणीको सस्तो ऋणको अपेक्षा, कर्मचारीहरुको उच्च सेवा सुविधाको अपेक्षा र लगानीकर्ताको उच्च प्रतिफलको अपेक्षालाई प्रभावकारितासँग समायोजन गर्दै जाने हो भने ८० को दशकका बैंकहरूको पनि ‘आइडल’ बैंक बन्नसक्ने अवसर नयाँ ग्लोबल आईएमई बैंकलाई छ ।

मर्जरपछि पनि बैंकको नाम भने ग्लोबल आइएमई बैंक नै रहनेछ । ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल सञ्चालक समिति अध्यक्ष र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्री हुने सहमतिमा ग्लोबल आइएमई बैंकले जनता बैंकलाई मर्जर गराएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*