६० लाख भक्तजनद्वारा गढीमाईको दर्शन
मंसिर १८, बारा – प्रदेश नम्बर २ को बारा जिल्लामा रहेको गढीमाईको मेलामा अहिले सम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट्र सहित दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताए ।
भारतको दिल्ली, बुम्बई, कोलकता, हैदरावाद, पटना, मोतिहारी दरभङ्गा, सितामडी, बेतिया, रक्सौल, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र सार्कका बङ्गलादेश, ढाका, पाकिस्तान, बर्माका भक्तजन अवलोकन गर्न आउने गरेका गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए ।
दर्शनका लागि खासै राम्रो प्रबन्ध नमिलाइएको भारत मोतहारीका अच्छेलाल सहनीले बताए । यसैबीच सोमबार राति साढै १ः०० बजे तान्त्रिक विधिबाट पूजापाठ गर्न शुरु गरेपछि साढे ३ः०० बजे करीब २ घण्टामा बत्ति बलेपछि अन्यविधि गरेसकेपछि मंगलबार ७ः१५ बजेदेखि बलि शुरु गरिएको पूजारी चौधरीले बताए ।
करीब ५ हजार भन्दा बढी राँगाको बलि दिइएको बताइएको छ । मेलामा जताततै फोहर नै फोहर रहेको भक्तजनले गुनासो गरेका छन् । शौचालय बस्ने ठाउँ र नुहाउने ठाउँको राम्रो प्रबन्ध नमिलाइएको दर्शनका लागि भारतबाट आएका पुकार यादवले बताए । मेलामा सामान बेच्नेले मनपरी रकम असुलिरहेका बारागढी गाउँपालिका– ४ का श्रीचन्द्र साहले बताए ।
पाकेटमारले मोबाइल, सुन–चाँदीका गहना, नगद समेत चोर्ने गरेका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले बताए ।