१३ औं साग खेलकुदमा नेपाल १५ स्वर्ण सहित शिर्ष स्थानमा
मंसिर १६, काठमाडौं – नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिनमा २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ स्वर्ण सहित शिर्ष स्थानमा रहेको छ ।
नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको हो । त्यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।
नेपालका सिनियर पुरुष एकल कातामा मण्डे काजी श्रेष्ठले स्वर्ण जिते । यस्तै नेपालको महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक जित्यो । पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ केजी र विप्लब लाल श्रेष्ठले ८४ केजीमा स्वर्ण जित्दा महिलातर्फ कुसुम खड्काले ४५ केजी मुनि र ५० केजी मुनि अनु अधिकारीले स्वर्ण जितिन् ।
पुरुष कुमुतेमा दिवश श्रेष्ठले रजत र महिला कातामा चन्चला दनुवारले रजत जितिन् । यस्तै तेक्वान्दोतर्फ १३ स्वर्णको लागि प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको हो । नेपालका लागि आयषा शाक्यले दुई स्वर्ण दिलाउँदा पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले स्वर्ण जितेका छन् । नेपालले महिला टिम पुम्सेतर्फ १७–२९ वर्षउमेर समूह (निसा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेर समूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई) ले स्वर्ण जित्न सफल भएको हो ।
नेपालका लागि आयशाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्फ स्वर्ण दिलाइन् । व्यक्तिगत विधातर्फ आयशाले ८.९४० र भारतकी प्रजक्ता प्रकाशले ७.६४० स्कोर ल्याइन् । यस विधामा श्रीलंकाकी गायत्री सन्दामर्ली (७.७५५०) ले र निसा महरुन (७.३६०) ले कांस्य पदक जितिन् ।
२९ वर्षमाथि कै जोडी पुम्सेमा आयषा र सञ्जीव कुमार ओझाको जोडी (८.१६) ले पाकिस्तानका महरुन र सहबाज अहमदको जोडी (७.८६)लाई पछि पारेका थिए । यस विधामा श्रीलंकाका लक्षमन एन्डिस र गायत्रीको जोडी (७.८६०) तथा बंगलादेशका दिपु चक्मा र मौसुमको जोडीले कांस्य पदक जिते ।
त्यसैगरी नेपालका लागि महिला पुम्सेतर्फ पार्वती गुरुङ र सिना लिम्बु मादेन तथा पुरुष पुम्सेमा कमल श्रेष्ठले स्वर्ण दिलाए । सिनाले १७ देखि २३ वर्ष, पार्वतीले २३ देखि २९ वर्ष र कमलले २३ देखि २९ वर्षउमेर समूहमा स्वर्ण जितेका हुन् । सिनाले ८.२५० स्कोर ल्याउँदा भारतकी रूपमा बायोरले ८.१३० स्कोर ल्याइन् । यस विधामा श्रीलंकाकी इसुरी मेन्डिस र बंगलादेशका अकिरी अक्तेरले कांस्य जितिन् ।
२३ देखि २९ वर्ष उमेर समूहमा स्वर्ण विजेता पार्वतीले ८.२५० अंक ल्याउँदा रजत विजेता श्रीलंकाकी रनपतिपुरा जयविरालले ८.१४० अंक ल्याइन् । यस विधामा बंगलादेशकी नुरनहर अक्तेर र भारतकी हर्षा सिंघाले कांस्य पदक जितिन् । सोही उमेर समूहमा नेपालका कमलले स्वर्णका जित्दा ८.२७० अंक ल्याए । भारतका राहुल जैनले ८.१८० ल्याउँदा रजत पदकमै खुम्चिए । यस विधामा श्रीलंका निसाकां जयसिंघे(८.१५) र बंगलशादेशका मेहदी हसन (८.०६०)ले कांस्य पदक जिते ।
१७ वर्षदेखि २३ वर्षउमेर समूहको व्यक्तिगत पुम्सेमा भने नेपालका कृष्णबहादुर तामाङ रजत पदकमा खुम्चिए । कृष्णबहादुरले ८.२०० ल्याउँदा श्रीलंकाका रनुकाप्रभाथ मेनिक पेडीले ८.२५० अंक ल्याए । यस विधामा भारत लालथला मुइनपुई(८.१२०) र बंगलादेशका कमरुल इस्लाम(८.०९०) ले कांस्य पदक जितेका छन् ।
पुरुष २९ वर्षमाथिको पुम्सेमा बंगलादेशका दिपु चक्मा(८.११०)ले स्वर्ण जित्दा श्रीलंकाका लक्षमन एन्ड्रिस (८.११०)लाई पराजित गरे । यस विधामा नेपालका रेजिन धिमाल (८.०१०) र भारतका गाङफुङ गाङ्स (८.०३०) ले कांस्य पदक प्राप्त गरे । १७ देखि २३ वर्ष उमेरसमुहको पेयर पुम्सेमा श्रीलंकाले स्वर्ण, भारतले रजत तथा नेपाल र बंगलादेशले कांस्य पदक जिते ।
२३ वर्षदेखि २९ वर्षउमेर समूहको पेयर पुम्सेमा भने भारतले स्वर्ण जित्दा गौरव सिंह र हर्षा सिंघेको जोडीले सफलता दिलाए । यस विधामा श्रीलंकाले रजत प्राप्त गर्दा नेपालका जीतबहादुर बोट र पार्वती गुरुङ तथा बंगलादेशका मेहदी हसन र नुरनहरले कांस्य पदक जिते ।
यस्तै नेपालले ट्रायथोलनमा एक स्वर्ण पदक जितेको छ । ट्रायथोलनको महिला ईलाईट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी हुन् । (खेलपाटी डटकम)