फरक अवतारमा देखियो, बिपिन सेल्फी किङमा
मंसिर ५, काठमाडौं – चलचित्र सेल्फी किङ मार्फत अभिनेता विपिन कार्की नयाँ लुक्समा देखिएका छन् । फिल्म ‘सेल्फी किङ’ले मंगलबार सार्वजनिक गरेको फस्ट लुकमा विपिन अहिले सम्मकै फरक लुक्समा देखिएका हुन् ।
आगामी माघ २४ गते देखि प्रदशनमा आउने चलचित्रको फस्टलुकमा विपिनले आँखामा गाजल र ओठमा रातो रंगको लिपिस्टिक लगाएका छन् भने, उनको कपाल समेत लामो देख्न सकिन्छ ।
फस्टलुकले फिल्म भित्रको विपिनको चरित्र झल्काएको निर्माता सुवास थापाले बताए । फिल्ममा विपिनले गोपाल दाहाल नामक एक हाँस्यकलाकारको भूमिका निर्वाह गरेका छन् । फिल्म एक चर्चित टेलिभिजन हास्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा निर्माण भएको हो ।
‘सेल्फी किङ’मा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्ममा विपिन र लक्ष्मीले श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।
दिनेश राउत र सुवास थापाले मिलेर बनाएको यो फिल्ममा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ । फिल्मका सह-निर्मातामा राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।