कुलेखानी तेस्रो एक महिना भित्रै उदघाटन हुने

तामसालिङ खबर
५ मंसिर २०७६, बिहीबार ०८:४३

मंसिर ५, काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सोमबार माथिल्लो त्रिशूली थ्रि ए को उद्घाटन गरेपछि अब कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको उदघाटन गर्ने तयारीमा जुटेको छ । निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले गत असोज तेस्रो साताबाट परीक्षण उत्पादन थालेको थियो ।

आयोजनाले ब्यबसायीक उत्पादन थालेपछि प्राधिकरण अन्तर्गत बनिरहेका सबै रुग्ण जलविद्युत आयोजना पार लाग्ने कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘एक महिनाभित्र कुलेखानी तेस्रो आयोजनाको पनि उदघाटन गर्छौं,’ उनले भने, ‘यसपछि प्राधिकरणको ध्यान मुख्यरुपमा माथिल्लो तामाकोसी सहित कम्पनी मोडलमा बनिरहेका विभिन्न आयोजनामा केन्द्रित हुनेछ ।’

विभिन्न कारणले प्राधिकरणलाई आर्थिक बोझ बनिरहेका चमेलिया र त्रिशुली थ्री ‘ए’ ले उत्पादन थाले पनि कुलेखानी तेस्रो आयोजना अन्योलमा थियो । अहिले कुलेखानी तेस्रोबाट परीक्षण उत्पादन भइरहेको र उत्पादित विजुली राष्ट्रिय प्रसारणमा आइसकेको घिसिङले बताए । कुलेखानी १ र २ चलेका बेलामा मात्रै तेस्रो आयोजना चलाउन सकिने भएकाले त्यसै अनुरुप परीक्षण भइरहेको उनले जानकारी दिए ।

प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट असुल्ने निर्णय प्राधिकरणले गरिसकेको छ ।

आयोजनाको शुरुको लागत अनुमानित अढाइ अर्ब रुपैयाँ थियो । निर्माण अवधि लम्बिदा साढे चार अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । कुलेखानी बाँधबाट ६० मेगावाटको कुलेखानी प्रथम र दोस्रो सञ्चालनमा छन् ।

पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा पठाएर ३२ मेगावाट उत्पादन भइरहेको छ । दोस्रोबाट निस्केको पानी तेस्रोमा पुर्‍याएर १४ मेगावाट उत्पादन हुँदैछ । आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । अनलाइनखबर डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*