पाल्पाको १२ वटा विद्यालयमा शून्य दरबन्दी

तामसालिङ खबर
२९ कार्तिक २०७६, शुक्रबार १३:५६

कार्तिक २९, पाल्पा – पाल्पा जिल्लाका १२ वटा माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । मावि तहमा शिक्षक दरबन्दी नहुँदा समेत कक्षामा पठनपाठन हुँदै आएको छ । दरबन्दी बिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक अभावमा पठन पाठन हुँदा विद्यालयलाई समस्या परेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार पाल्पा जिल्लामा १२ माध्यमिक विद्यालय शिक्षक दरबन्दीबिना नै सञ्चालनमा आएको शाखा अधिकृत विष्णु बेल्बासेले जानकारी दिए । जिल्लाको तिनाउ गाउँपालिका र रैनादेवी छहरामा सबैभन्दा बढी शून्य दरबन्दी विद्यालय रहेका छन् । तिनाउ गाउँपालिकामा तीन मावि, रैनादेवी छहरा गाउँपालिकामा तीन मावि, निस्दी, बगनासकाली र तानसेन नगरपालिकामा समेत शिक्षकको दरबन्दीबिना नै कक्षा सञ्चालनमा आएको हो ।

शून्य दरबन्दीमा रहेका विद्यालयलाई शिक्षकका लागि शिक्षण सहयोग अनुदानका रुपमा बजेट प्राप्त हुँदै आएको बेल्बासेको दाबी छ । वि.सं २०७६/७७ मा शिक्षा विकास तथा समन्वय एकाइमा बजेट प्राप्त भएको थियो । वि.सं २०७५/७६ मा स्थानीय तहमा नै केन्द्रीय सरकारले शिक्षण सहयोग अनुदान पठाएको हो ।

शिक्षण अनुदानको रकम मावि तहमा रहेका शिक्षकहरुलाई तलब प्राप्त भए पनि आधारभूत तहका शिक्षकले अनुदान कार्यक्रमबाट बञ्चित हुनुपरेको छ । विसं २०६६ देखि दरबन्दी थप गर्ने काम भएको छैन । पछिल्ला वर्षमा माविका कक्षा सञ्चालनमा आएका विद्यालयमा शिक्षक दरबन्दी नहुँदा पठनपाठन गराउने शिक्षकका लागि पारिश्रमिकको जिम्मेवारी विद्यालयले बेहोर्नुपर्ने बाध्यता   छ ।

गाउँपालिकाले जसोतसो गरी मावि तह सञ्चालन गर्नुपर्ने बाध्यता छ । शून्य दरबन्दीमा सञ्चालित विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । तर, मावि नहुँदा अन्यत्र पठाउँदा बढी समय लाग्ने भएपछि ग्रामीण क्षेत्रका माविमा गाउँपालिका र विद्यालयको आन्तरिक खर्चबाट मावि शिक्षक पालिन्छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*