आधा दर्जन विदेशी एयरलाइन्स, नेपालमा उडान भर्न तयारी

तामसालिङ खबर
२६ कार्तिक २०७६, मंगलवार १०:४०

कार्तिक २६, काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक/एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन् ।

भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ भने कुवेतको जजिरा एयरवेजले पनि नेपाल उडानका लागि स्वीकृति लिएको छ । स्पाइस जेटले काठमाडौँ–नयाँ दिल्ली–मुम्बई र भिस्ताराले काठमाडौँ–नयाँ दिल्ली रुटका लागि दैनिक एक–एक उडान गर्ने अनुमति पाएका छन् ।

त्यस्तै, कुवेतको जजिरा एयरले अगामी मंसिर १ गते देखि नेपालमा उडान भर्ने भएको छ । जजिराको उडान तालिका निश्चित भएको नियामक निकाय प्राधिकरणले जनाएको छ । भारतका दुई कम्पनीले डिसेम्बर महिनाको दोस्रो सातादेखि नेपालमा उडान भर्नेछन् ।

विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपालबाट उडान गर्नुपर्दा दुई देशीय हवाई सम्झौता बमोजिम शुरुमा पर्यटन मन्त्रालयलाई निवेदन दिनुपर्ने हुन्छ, मन्त्रालयको स्वीकृतिपछि मात्र मन्त्रालय मातहतको नियामक निकाय प्राधिकरणले उडान अनुमति दिने प्रावधान छ । विदेशी एयरलाइन्सले नेपालमा उडान विस्तार गरेसँगै भ्रमण वर्षको अवधिमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१९ मा १२ लाख हाराहारी बाह्य पर्यटक नेपाल भ्रमणमा आएका थिए । अध्यागमन विभागको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१९ को १० महिनाको अवधिमा १० लाख पर्यटक नेपाल भित्रिएका छन् ।

काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र भारतका दुई एयर इन्डिया र इन्डिगो एयरले उडान भर्दै आएका छन् । नेपालबाट अहिले तीन नेपालीसहित २८ वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । तीन एयरलाइन्स थपिए सँगै अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीको सङ्ख्या ३१ पुग्नेछ ।

सरकारले युरोपेली मुलुक फिनल्यान्डसँग दुई पक्षीय हवाई सम्झौताको तयारी गरेको छ । फिनल्यान्डको सबैभन्दा ठूलो वायु सेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सिधा हवाई सेवा विस्तार गर्ने तयारी गरेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।

पछिल्लो पटक चीन, थाइल्यान्ड र जापानसँग हवाई सम्झौता पुनरावलोकन भइसकेको छ । सरकारले २०७५ साल मङ्सिर १४ गते कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । नेपालसँग हवाई सम्झौता गरेको देशमध्ये कम्बोडिया ३९औँ देश हो । सम्झौतामा कम्बोडिया र नेपालका वायु सेवा कम्पनीले हप्तामा १४–१४ पटक सिधा उडान भर्नसक्ने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*