बंगलादेशसंग ७ विकेटले भारत पराजित
बंगलादेशले टी–२० क्रिकेटमा भारत विरुद्ध पहिलो जित निकालेको छ । तीन टी–२० र २ टेस्ट खेल खेल्न भारतमा रहेको बंगलादेशले आइतबार भएको पहिलो टी–२० खेलमा भारतमाथि ७ विकेटको सानदार जित निकालेको हो।
दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा बंगलादेशले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्ता दिएको थियो । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो । १४९ रनको लक्ष्य पाएको बंगलादेशले १९.३ ओभरमा १५४ रन बनाउँदै ऐतिहासिक जित दर्ता गर्यो।
कप्तान विरराट कोहलीका अनुपस्थितिमा रोहित शर्माको कप्तानीमा बंगलादेश विरुद्ध उत्रिएको भारतीय टोलीका लागि ओपनर शिखर धावनले सर्वाधिक ४१ रन बनाए । कप्तान रोहित शर्मा ९ रनमा आउट भए । धावनपछि ऋषव पन्तले २७, श्रेयस इयेरले २२ रनको योगदान गरे ।
बंगलादेशका अमिनुल इस्लाम र शाफिल इस्लामले भारतको २–२ विकेट लिए । अफिफ हसनले पनि ३ ओभरमा जम्मा ११ रन दिएर १ विकेट लिए । मध्यम स्कोरको लक्ष्य पाएको बंगलादेशले राम्रो सुरुवात गर्न सकेको थिएन । पहिलो ओभरमै ८ रन हुँदा पहिलो विकेट गुमाएको थियो ।
८ औं ओभरमा ५४ रन हुँदा दोस्रो विकेट गुमाएको बंगलादेशका लागि सौम्य सरकार र मुष्फिकुर रहिमले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेपछि जित सहज बनेको हो । रहिमले ४३ बलमा नट आउट ६० रन बनाए ।