हेटौँडाकी सन्ध्या बनिन् ‘रियो छमछमी ४’ को विजेता
कार्तिक १०, काठमाण्डौ – नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता प्रदेश नम्बर ३ हेटौँडाकी सन्ध्या आचार्य बनेकी छिन् ।
शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई पछि पार्दै आचार्य विजेता बनेकी हुन् । उनलाई पुरस्कार स्वरुप अल्टो के–१० गाडी प्रदान गरिएको छ । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरे।
त्यस्तै महोत्तरीका नेशन सुश्लिङ मगर फष्ट रनर अप हुँदै नगद रु पाँच लाख र झापाकी दिलमाया लिम्बू सेकेण्ड रनर अप हुँदै नगद रु तीन लाख प्राप्त गरे । अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाकी दीलमाया लिम्बू, महोत्तरीका नेशन सुश्लिङ मगर, पोखराकी सपना थापा र मकवानपुरका सन्ध्या आचार्य थिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्षमताको प्रस्फुटन हुने महत्वपूर्ण स्थान नेपाल टेलिभिजन भएको भन्दै अझै यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएकोे थियो । २०६६ साल देखि नेपाल टेलिभिजनले शुरु गरेको उक्त रियालिटी शोमा सिजन ३ मा मकवानपुर कै सरोज राना प्रजाले जितेको थियो ।