शनि विश्वकर्मा बने, ‘नेपाल लोक स्टार’को पहिलो विजेता
कार्तिक ८, काठमाडौं – लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता रोल्पाका शनि विश्वकर्मा भएका छन् । शुक्रबार भृकुटीमण्डपमा भएको ग्राण्ड फिनालेबाट विश्वकर्मालाई नेपाल लोक स्टारको विजयी घोषणा गरिएको हो । विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् । साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पारेको हुन् ।
त्यस्तै, स्याङ्जाका चेतन गोतामे लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनी२५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा पाउन सफल भएका छन् । उदयपुरका विनोद दनुवारले तेस्रो स्थान हात ओगटेका छन् । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा हात पारेका हुन् ।
अर्को प्रतियोगी रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ प्राप्त गरेका छन् । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टारको ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका थिए ।