बलिउड अभिनेता अमिताभ अस्पताल भर्ना
कार्तिक १, एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चन पछिल्लो तीन दिनदेखि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । कलेजोमा समस्या देखिएपछि उनलाई तीन दिन अघि अस्पताल लगिएको थियो ।
शुक्रबार पूनः फलोअपका लागि बोलाइएकोमा अचानक बिहान ३ बजे अस्पताल भर्ना गरिएको हो । सन् १९८२ मा फिल्म ‘कुली’ शुटिङको समयमा अमिताभ घाइते भएका थिए ।
घाइते उनलाई रगतको जरुरत हुँदा एक ब्यक्तीबाट रगत दिलाइएको थियो तर पछि ती ब्यक्ती हेपाटाइटिस बीको भाइरस संक्रमित रोगी भएको बुझियो। सो समयदेखि अमिताभलाई कलेजोमा समस्या देखिने गरेको उनको परिवारले बताउँदै आएको छ ।
६० देखि ८० को दशकसम्म एकसेएक हिट फिल्महरुमा अभिनय गरेका अमिताभ पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’को होस्ट गर्दै आएका थिए । उपचारका लागि अस्पतालमा पुर्याइएका अमिताभलाई अस्पतालमा अझै केही दिन राखिने बताइएको छ ।