भ्वाइसको ब्लाईन्ड अडिसनमा चारै जना कोचलाई फर्काउन सफल २१ प्रतिभाहरु (भिडियो सहित)

चन्द्र घलान
७ आश्विन २०७६, मंगलवार ११:५५

असोज ७, हेटौडा – चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । ब्लाईन्ड अडिसनबाट चारै जना कोचले १६–१६ जनाको ड्रिम टिम तयार पारेका छन् । ब्लाईन्ड अडिसनको १२ वटा एपिसोड सकिएसँगै अब ब्याटल राउण्ड सुरु हुनेछ ।

ब्लाईन्ड अडिसनबाट ६४ जना सहभागीहरुले ब्याटलका लागि आफुलाई योग्य ठहराएका छन् । जसमध्ये २१ जना सहभागीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । साथै ब्लाईन्ड अडिसनमा सहभागी भएका १९ जनाको अगाडि बढ्ने सपना सकिएको छ । यस सामग्रीमा हामीले भ्वाईसको ब्लाईन्ड अडिसनमा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल २१ जना प्रतिभाहरुका बारेमा चर्चा गर्दैछौँ ।

१) सनिश श्रेष्ठ, कोटेश्वर, काठमाडौँ–हजुरबुवाबाट गीत गाउने प्रेरणा पाएका सनिशले हजुरबुवाले भजन गाएको देखेर सँगीतमा रुचि राखेका थिए । गीतार बजाउँदै गीत गाउँदै गरेका उनी गीतारकै कारण आफुले पढाईमा खासै उन्नती गर्न नसकेको सुनाउँछन् । १९ वर्षीय सनिशले चर्चित नेपाली कथानक चलचित्र प्रसादकौ लै लै बोलको गीत गाएका थिए । भ्वाईसको दोस्रो सिजनमा उनी चारै जना कोचलाई आफुतिर फर्काउन सफल पहिलो प्रतियोगी हुन् । उनी कोच राजु लामाको टिममा छन् ।

२) प्रेक्षा लम्साल, दाङ– दाङकी प्रेक्षा २० वर्षकी छिन् । भ्वाईस अफ नेपालको सिजन वानमा पनि सहभागी भएकी प्रेक्षाले त्यस समयमा ‘बाहरसँगै उड्यो मन’ बोलको गीत गाएकी थिईन् । तर उनी छनौटमा परिनन् । कोचहरुको कमेन्टलाई आत्मासाथ गरेर तयारी गरेर आएकी प्रेक्षाले दोस्रो सिजनको ब्लाईन्ड अडिसनमा कुन्ती मोक्तानको ‘कहिले काँही मलाई पनि’ बोलको गीत गाएकी थिईन् । यो गीतबाट उनले चारै जना कोचलाई आफुतिर फर्काउन सफल भईन् । उनी सिजन २ मा चारै जना कोच फर्काउन सफल दोस्रो प्रतियोगी हुन् । उनी कोच राजु लामाको टिममा छिन् ।

३) याङ्की योल्मो, दार्जिलिङ– दार्जिलिङको आलुबारीबाट भ्वाईस अफ नेपालको दोस्रो सिजनमा सहभागी हुन आएकी याङ्कीको वास्तविक नाम याङ डोल्मो हो । हेलम्बुको सँस्कृतिसँग जोडिएकी याङ्की आफ्नो हजुरबुवालाई प्रेरणाको श्रोत मान्छिन् । ह्योल्मो सँस्कृतिको गीत समेत गाएकी उनले ब्लाईन्ड अडिसनमा द एज ब्याण्डको मेरो आँशु बोलको गीत गाएकी थिईन् । २२ वर्षीय याङ्कीको गीत सुनेर चारै जना कोच फर्किएका थिए । दोस्रो सिजनमा उनी चारै जना कोचलाई आफुतिर फर्काउन सफल तेस्रो प्रतियोगी हुन् । उनी कोच आश्थाको टिममा छिन् ।

४) सुशान्त गौतम, ईलाम – ईलामका २२ वर्षीय सुशान्त आफुलाई मन लागेको कुरा गर्न रुचाउँछन् । उनी आफु संगीतमा निरन्तर लागिरहेको बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा द एज ब्याण्डको थाहा छैन बोलको गीत गाएका थिए । उनी सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल चौथो प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छन् ।

५) गीता शर्मा, सिक्किम– बुवाले परिवारलाई छोडेपछि पिडामा परेकी गीताले अध्ययन बिचैमा रोकिएपछि संगीतलाई आफ्नो लक्ष्य बनाईन् । आफै कमाउदै सँगीत क्षेत्रमा संघर्ष गरेकी गीता उनले नै संगीत सिकाएका एक विद्यार्थीको अनुरोधमा द भ्वाईसमा सहभागी भएको बताउँछिन् । ३३ वर्षीया गीताले ब्लाईन्ड अडिसनमा अरुणा लामाको पाहोर साल खुशी साट्दा बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच उनीतर्फ फर्किएका थिए । उनी सिजन २ मा चारै जना कोचलाई फर्काउन सफल पाँचौ प्रतिभा हुन् । उनी कोच राजुको टिममा छिन् । अडिसनमै राजुसँगै उनले गाएको गीत पनि अहिले भाईरल भईरहेको छ ।

६) राम लिम्बु, विर्तामोड, झापा–स्थानीय ब्याण्डका दाईहरुसँगै गीत गाउँदै हिँड्ने गरेका रामले औपचारिक रुपमा साँगितिक कक्षा लिएका छैनन् । तर उनी गीत गाउन माहिर छन् । २३ वर्षीय रामले ब्लाईन्ड अडिसनमा सविन राईको म संसार जित्ने आँट बोलको गीत गाएका थिए । उनको आवाजमा चारै जना कोच फर्किएका थिए । उनी दोस्रो सिजनमा चारै जना कोचलाई फर्काउन सफल छैटौँ प्रतियोगी हुन् । उनी कोच दिपको टिममा छिन् ।

७) वैशाली लामा, सिलीगुडी–भ्वाईस अफ ईण्डियामा समेत भाग लिएकी वैशाली आफ्नै मातृभाषामा प्रतिस्पर्धा गर्न पाएकोमा खुशी लागेको बताउँछिन् । साईबाबाको भक्त रहेकी उनले साई भजनबाटै सँगीतमा पाईला चालेकी हुन् । सानैदेखि गाउन सुरु गरेकी उनले ब्लाईन्ड अडिसनमा लहनाले जुरायो कि बोलको गीत गाएकी थिईन् । २५ वर्षीय वैशालीले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएकी थिईन् । उनी सिजन २ मा चारै जना कोचलाई फर्काउन सफल सातौँ प्रतिभा हुन् । उनी कोच राजुको टिममा छिन् ।

८) साईकिरण लम्साल, काँकटभिट्टा, झापा–६ वर्षदेखि भजन गाउँदै संगीत क्षेत्रमा लागेका साईकिरण फिटनेस सेन्टर समेत चलाउँछन् । बुवा र श्रीमतीबाट संगीत क्षेत्रमा लाग्न प्रेरणा पाएका साईकिरणले ब्लाईन्ड अडिसनमा नारायण गोपालको प्रियसीका यादहरु बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । सिजन २ मा चारैजना कोचलाई फर्काउन सफल उनी आठौँ प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छन् ।

९) झुप्री भण्डारी,अछाम–१० वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी झुप्री भण्डारी अहिले सामाजिक सञ्जालमा भाईरल छिन् । कमल भण्डारीको सहयोगमा भ्वाईसको मञ्चसम्म आएकी झुप्रीले अपाङ्ग भएकै कारण सामाजिक दुव्र्यव्यहार समेत सहेको बताउँछिन् । भ्वाईसको मञ्चमा उनको आवाज गुञ्जिएपछि संसार नदेखेका उनका आँखाले दर्शकको माया र सद्भाव महशुस गर्न पाएका छन् । आफ्नै रचनामा गीत गाउने झुप्रीले ब्लाईन्ड अडिसनमा देउडा भाका गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी सिजन २ मा सबै कोचलाई फर्काउन सफल नवौँ प्रतिभा हुन् । उनी कोच आश्थाको टिममा छिन् ।

१०) सञ्जय महत, डिल्लीबजार, काठमाडौँ–सानैदेखि सुपर न्याचुरल पावरमा आकर्षित भएर कथित ड्राकुलाको जस्तै दाँत हालेका सञ्जय महतको दाँत देख्दा डरलाग्दो जस्तो लागेता पनि उनी वास्तवमा नरम दिलका छन् । सुमधुर गीत गाउने सञ्जयलाई धेरैले ड्राकुला भनेर चिन्छन् । उनले ब्लाईन्ड अडिसनमा चौबन्दी चोलो बोलको गीत गाएका थिए । २६ वर्षीय सञ्जयको आवाज सुनेर चारै जना कोचहरु फर्किएका थिए । उनी कोच राजु लामाको टिममा छन् ।
भिडियो हेर्नुहोस –

११) कमल विष्ट, टिकापुर, कैलाली–शास्त्रीय संगीत सिक्दै गरेका कमल विष्ट टिकापुरको कैलाली निवासी हुन् । गाउँमा सामान्य गाउन सिकेका कमलले काठमाडौँमा संगीतको शिक्षा लिएका हुन् । राग बागेश्वरी गाएका २४ वर्षीय कमलको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

१२) करण दोङ, जोरपाटी, काठमाडौँ –भ्वाईस अफ नेपालको पहिलो सिजनमा समेत सहभागिता जनाएर छनौटमा नपरेपनि करणले यो पटक भने स्टेजलाई निकै तताए । २१ वर्षीय करणको गीत सुनेर चारै जना कोच मात्र फर्केनन् भ्वाईस अफ नेपालको स्टुडियोको माहोल नै तात्तियो । कोच राजु र आश्था स्टेजमा उनीसँगै उक्लिएर नाचे । कोच राजुको युनिक जम्पलाई पनि यही पर्फोमेन्सले भाईरल बनाएको थियो । उनले सविन राईको कोमल त्यो तिम्रो बदनमा बोलको गीत गाएका थिए । उनी कोच राजुको टिममा छन् ।

१३) प्रवेश खतिवडा, नुवाकोट, हाल काठमाडौँ –सानैदेखि संगीतमा रुचि भएका प्रवेश संगीतको कुरा गर्दा आफ्नो विद्यालयका गुरुलाई सम्झन्छन् । गुरुकै प्रेरणा पाएर उनी संगीतमा अघि बढेका हुन् । भ्वाईस अफ नेपालमा सहभागी हुनुलाई ठूलो सौभाग्य ठानेका प्रवेश २० वर्षका छन् । ब्लाईन्ड अडिसनमा हे बरै बोलको गीत गाएका प्रवेशको आवाज सुनेर चारै जना कोचहरु फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

१४) आरिफ रौफ,नयाँ बानेश्वर, काठमाण्डु – भ्वाईस अफ नेपालको पहिलो सिजनमा समेत सहभागी भएका आरिफ रफ यो वर्ष थप तयारीका साथ आएका छन् । पार्ट टाईम लेक्चरका रुपमा कार्यरत आरिफ हार्डवेयरको व्यवसाय पनि गर्छन् । पहिलो सिजनमा धेरैको प्रशंसा पाएका उनी थप खारिएर सिजन दुईमा भाग लिन आएका छन् । २३ वर्षीय आरिफले यस पटक ब्लाईन्ड अडिसनमा ‘उडायो हावाले बोल’को गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्केका थिए । उनी कोच आस्थाको टिममा छन् ।

१५) विजय राई, ईलाम, हाल काठमाडौँ –अध्ययनसँगै जागिरे जिवन बिताईरहेका विजयको पारिवारिक पृष्ठभूमि सँगीतको होईन तर उनी सँगीतलाई औधी माया गर्छन् । अवसर मिल्ने बित्तिकै गीत गाउन थालिहाल्ने विजयले आफ्नो गाउँको परम्परा अनुसारै गीत गाउन सिकेका हुन् । सँगीत क्षेत्रमै करियर बनाउने उदेश्यका साथ काठमाडौँमा आएका विजयले ब्लाईन्ड अडिसनमा ‘गहिरो गहिरो सागर जस्तै’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।

१६) कुमा सागर, भक्तपुर–वेष्टर्न रक तथा गीतार बजाउन मन पराउने कुमारले नेवारी सँस्कृति अनुसार नलागेको भन्दै कहिले काँही आफन्तको गुनासो पनि भोग्छन् तर उनी आफुलाई मनपर्ने शैलीको गीत गाउनमा तल्लिन् छन् । लुकी–लुकी गीतार सिकेका उनले पढाई समेत बिगारे तर उनको संगीतको भोक मरेन । गीतार सिकेका कारण आफुले कुटाई खाएको पल पनि उनी सम्झन्छन् । ब्लाईन्ड अडिसनमा उनले ‘मायाको डोरीले’ बोलको गीत गाएका थिए । उनको पर्फोमेन्स् र आवाजमा चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच आश्थाको टिममा छन् ।

१७) विनय कार्की, हेटौँडा, मकवानपुर–बोल्नमा केही समस्या भएता पनि सुरिलो स्वरका धनी विनय कुमार कार्कीलाई धेरैले विनय केटु भनेर पनि चिन्छन् । सिजन्स ब्याण्डका चर्चित भोकलिष्ट सुजिल कर्मचार्य लगायतका ब्याण्ड पर्फोमेन्सबाट प्रभावित भएका विनयले कुन समयबाट आफुले गीत गाउन रुचि बढाए त्यो उनी पनि भन्न सक्दैनन् । अर्थात उनी गीतसँगीतमा प्रभावित भएदेखि नै गाउने भएका हुन् । प्रमोद खरेललाई फेभरेट कोच बताउने विनय चर्चित गायककै रुपमा समेत स्थापित छन् । मकवानपुरको हेटौँडा निवासी विनयले आफ्नै आवाजमा समेत धेरै गीतहरु रेकर्ड गराईसकेका छन् । ३५ वर्षीय विनयले ब्लाईन्ड अडिसनमा सुजिलकै ‘भुमो’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

१८) अमित राई, धरान, हाल कलंकी–औपचारिक रुपमा संगीत नसिकेका अमित सेल्फ प्राक्टिसकै भरमा भ्वाईसको मञ्चमा उक्लिएका प्रतिस्पर्धी हुन् । हाउस पेन्टिङको काम गरिरहेका अमितले एसएलसी पश्चात संगीतमा चासो दिएका हुन् । दाईहरुको ब्याण्डमा ड्रम बजाउँदै संगीतको दुनिया प्रवेश गरेका उनले ब्लाईन्ड अडिसनमा ‘डुब्न देउ मलाई’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोचहरु फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

१९) विमोचना लम्जेल, दार्जिलिङ–सुरुदेखि नै साँगितिक परिवारमा हुर्किएकी विमोचना चर्चित लोक गायिका डेजी बराईलीकी छोरी हुन् । उनका बुवा पनि चर्चित संगीतकार हुन् । सन् २००६ मा ‘पलेटी’ कार्यक्रममा आमाबुवासँगै गीत गाउन काठमाडौँ आएकी विमोचनाले सँगीतमा नै जीवन डोराउने लक्ष्य राखेकी छिन् । सँगीत कक्षा सँगै औपचारिक अध्ययन समेत गरिरहेकी उनी आमाबुवाकै बाटो पछ्याउन चाहान्छिन् । उनले ब्लाईन्ड अडिसनमा ‘भैँसी लड्यो है माया’ बोलको गीत गाएकी थिईन् । उनकी आमा चर्चित गायिका डेजी बराईलीको यो गीत गाउँदा चारै जना कोच उनीतिर फर्किए । डेजीको सुरिलो आवाजमा ४४ बर्ष अगाडि रेकर्ड भएको यो गीत विमोचनाले आफ्नै आवाजमा गुञ्जाएकी थिईन् । भ्वाईसको मञ्चमा ४४ वर्ष पछि डेजी आफैले पनि यो गीत गाईन् । विमोचना कोच प्रमोदको टिममा छिन् ।

२०) सुनिल लोहला श्रेष्ठ, भक्तपुर–भक्तपुर निवासी सुनिलले भारतबाट ईण्डियन क्लासिकल म्युजिकमा मास्टर्स गरेका छन् । सामान्य किसान परिवारमा जन्मेका उनी रागलाई कहिल्यै पनि परिवर्तन नहुने र सदाबहार संगीतका रुपमा लिन्छन् । १० वर्ष अध्ययनका लागि भारतमा बसेका सुनिलले ब्लाईन्ड अडिसनमा राग अहिर भैरव गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

२१) अञ्जु राना मगर, चितवन–सानैदेखि गीत गाउन थालेकी अञ्जुले छोरी भएकै कारण केही समय सँगीतलाई स्थगित गरिन् । २ वर्षसम्म उनले गीत गाउन छाडिन् । तर समाजले के भन्छ भन्ने कुरालाई पछि छाड्दै उनी गीत गाउन अगाडि बढिन् । उनी चर्चित ब्याण्डमा समेत आवद्ध छिन् । ब्लाईन्ड अडिसनमा उनले ‘नछोड्नु’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी कोच राजु लामाको टिममा छिन् । स्रोत :- मुर्चुङ्ग टिभी

भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*