हवाई इन्धन र ग्यासको मूल्य घट्यो

तामसालिङ खबर
४ आश्विन २०७६, शनिबार २२:०७

असोज ४, काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडान तर्फको हवाई इन्धनमा प्रतिकिलो लिटर ५० अमेरिकी डलर र ग्यासमा प्रति सिलिण्डर २५ घटाएको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रति किलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ३५० कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ । सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्य अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य समायोजन भएसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने निगमले विश्वास लिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका प्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने बताएका थिए । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*